मोदी भ्रमणको तयारी, मध्यान्ह १२ बजेदेखि सर्वसाधारणका लागि जानकी मन्दिर प्रवेशमा रोक

जनकपुर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । प्रदेश २ का मुख्य मन्त्री लालबाबु रावतले आज विहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासँग सुरक्षा अवस्थाबारे जानकारी लिएपछि तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।

भारतीय प्रधानमन्त्रीको भ्रमणको समयमा सुरक्षा चुस्त राख्न कुनै कसर बाँकी नराख्न उहाँले तीनै सुरक्षा निकायलाई निर्देशन समेत दिनुभएको छ । रामजानकी आसपासका क्षेत्रमा सरसफाई समेत तीव्र पारिएको छ । प्रहरी, सेना र सर्वसाधारण समेतको सहभागितामा सरसफाई भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।

यसैबीच, सुरक्षाको कारण देखाउँदै आज मध्यान्ह १२ बजेदेखि सर्वसाधारणका लागि जानकी मन्दिर प्रवेशमा रोक लगाईने भएको छ । प्रदेश सरकारले सूचना जारी गर्दै सुरक्षाको कारण मोदीको भ्रमण नसकिएसम्मका लागि मन्दिर प्रवेशमा रोक लगाइने जनाएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले २ दिने नेपाल भ्रमण भोली जनकपुरबाट शुरु गर्दै हुनुहुन्छ । मोदी र उहाँको टिम तीन वटा हेलिकप्टरमा भोली विहान १० बजे जनकपुर पुग्ने कार्यतालिका छ ।


प्रतिक्रिया दिनुहोस्