मोदीको आसन्न मुक्तिनाथ भ्रमणको समयमा मुस्ताङमा भारी हिमपात

अरुण पोष्ट सम्वाददाता

काठमाण्डौं,२७ वैशाख / वैशाख महिनाको अन्तिममा हिमपात भएको यो पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताउछन्।
साँझदेखि परेको भारी वर्षासँगै बाह्रगाउँ, मुक्तिनाथ क्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो। करिब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ। हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ। जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ।

स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन्। हिन्दू तथा बौद्ध धर्मावम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ। बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताएका छन।

हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन्। वर्षात्का कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्