तमोरमेवा आयोजनाको कार्य अघि बढ्ने

-प्रयास लिम्बू

ताप्लेजुङ, २८ बैशाख / ताप्लेजुङस्थित तमोर नदीमा निर्माण गर्न लागिएको तमोरमेवा जलविद्युत आयोजनाको कार्य यसै वर्षबाट सुरु हुने भएको छ । स्पार्क हाइड्रो इलेक्ट्रोनिक कम्पनी प्रालिको अगुवाइमा निर्माण गर्न लागिएको आयोजनाको कार्य आउँदो हिउँदबाट सुरु गरिने भएको हो । कुल एक सय २८ मेगावाट क्षमताको विद्युत उत्पादन हुने आयोजनाको केही समयभित्रै वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनको प्रतिवेदन तयार गरेर निर्माणको अनुमति लिने तयारी भइरहेको स्पार्क हाइड्रोपावर कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । स्पार्क हाइड्रो इलेक्ट्रोनिक कम्पनीसहित गोरक्ष हाइड्रोपावर प्रालि र जलविद्युत लगानी तथा विकास संस्था लिमिटेडको संयुक्त लगानीमा आयोजना निर्माण हुने लिम्बूले बताउनुभयो ।

                                तमोर मेवा जलविद्युत आयोजना निर्माण गरिने तमोर नदी । तस्बिर: प्रयास ।

आयोजना निर्माणको प्रक्रिया सुरु गरेको लामो समयपछि अब करिव तमोरमेवा जलविद्युत आयोजना निर्माणको कार्य अघि बढ्ने निश्चित भएको कम्पनीका प्रवन्ध निर्देशक लिम्बूले जानकारी दिनुभयो । आयोजनाको प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदन २०७० साल फागुनमा सरकारबाट स्वीकृत भई प्रक्रिया अघि बढेको भए पनि बीचमा केही प्राविधिक समस्या आएका कारण आयोजना निर्माणको कार्यले गति लिन नसकेको उहाँले बताउनुभयो ।

उहाँले स्पार्कसहित नेपाल सरकारको ऊर्जा मन्त्रालयअन्तर्गत जलविद्युत लगानी तथा विकास संस्था र गोरक्ष हाइड्रोपावरको संयुक्त सक्रियतामा आयोजनाको कार्य अघि बढ्ने निश्चित भएको बताउनुभयो । मुख्य लगानी जुटाउने जिम्मा जलविद्युत लगानी तथा विकास संस्थाको भएको र स्पार्क तथा गोरक्ष हाइड्रोपावर कम्पनीले पनि उत्तिकै भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कुल लागतको ३५ प्रतिशत जलविद्युत लगानी तथा विकास संस्थाको रहने छ भने गोरक्षको ३० प्रतिशत, स्पार्कको १५ प्रतिशत, प्रभावित क्षेत्रका जनताको १० र सर्वसाधारण जनताको १० प्रतिशत लगानी रहने छ ।

आयोजनामा खाडीमुलकमा रहेका नेपालीहरुको समेत लगानी रहने उहाँले जानकारी दिनुभयो । सुरुमा सर्वेक्षण गरिएको एक सय एक मेगावाटबाट बृद्धि हुन गई एक सय २८ मेगावाट क्षमता बराबर विद्युत उत्पादन हुने भएपछि कुल २२ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । यसै वर्ष अर्थात २०७५ को अन्तिमबाट आयोजनाको निर्माण सुरु गरेमा २०७९ सालभित्र सम्पन्न हुने उहाँको भनाइ छ । उहाँका अनुसार नौ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुँदा केही समय बढी लाग्ने भएको हो ।

तमोर नदी र मेवाखोला पानी उपयोग गरी निर्माण गरिने आयोजनाबाट उत्पादन हुने विद्युत कोशी करिडोरको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघुमा रहने सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जडान गरिने छ । आयोजनाको विद्युत गृहदेखि ढुङ्गेसाँघु शव–स्टेशनसम्म करिव सात किलोमिटर दूरी पर्ने उहाँले जानकारी दिनुभयो । यता आयोजना निर्माण गर्नेबारे शनिबार र आइतबार दुई दिन आयोजना स्थाल वा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिने आयोजनाले जनाएको छ । सार्वजनिक सुनुवाई पछि तत्काल वातावरणीय प्रभाव मूल्याङ्कनको कार्यलाई अघि बढाइने स्पार्क कम्पनीका प्रवन्ध निर्देशक लिम्बूले जानकारी दिनुभयो ।

आयोजनाको मुख्य प्रभावित क्षेत्र सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका पर्दछ भने बाँकी मिक्वाखोला गाउँपालिकाको लिबाङ, खोक्लिङ, मेरिङ्देनको लिङ्तेप, खाम्लुङ र आठराई त्रिवेणीको चाँगे तथा हाङ्पाङ प्रभावित क्षेत्रअन्तर्गत पर्दछ । स्थानीयको सहयोग साथै योजनाअनुसार वातावरण अनुकुल भई दिएमा समयभित्रै आयोजना निर्माण कार्य सम्पन्न गर्ने जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्