अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचालमा बिलमलाल च्याम्पियन

ताप्लेजुङ, बैशाख ३० गते / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा आयोजना गरिएको अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा काठमाडौंका बिलमलाल श्रेष्ठ प्रथम भएका छन । खेलको तेस्रो राउण्डदेखि अग्रता लिनुभएका श्रेष्ठले अन्य प्रतिपर्धीलाई पछि पार्दै सात दशमलव पाँच अङ्कका साथ प्रथम बन्नुभएको हो । उहाँ बुद्धिचालका पूर्व नेपाल च्याम्पियन समेत हुनुहुन्छ ।

च्याम्पियन बन्नुभएका बिलमलाल श्रेष्ठ रातो क्याप । तस्बिर : प्रयास ।

प्रतियोगितामा भारतको राजस्थानका रिसब निसाद द्वितीय र भारत सिक्किमका ठेन्डुक तामाङ तृतीय बन्नुभएको छ । निसाद र तामाङले समान सात–सात अङ्क ल्याउनुभएको थियो । खेल समयको उत्कृष्टतालाई हेरेर निसादलाई द्वितीय र तामाङलाई तृतीय घोषित गरिएको प्रतियोगिता आयोजक समितिका निर्देशक राजकुमार मेन्याङबोले जानकारी दिनुभयो ।

प्रथम बन्न सफल हुनुभएका श्रेष्ठले नगद ३५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनुभएको छ । यस्तै द्वितीय र तृतीय बन्नुभएका निसाद र तामाङले क्रमशः ३० र २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनुभएको छ । त्यस्तै प्रतियोगितामा पन्ध्रौं स्थानसम्म ल्याउनेलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जाकारी दिएको छ । प्रतियोगिता मङ्गलबारदेखि शनिबारसम्म सञ्चालन भएको थियो । प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्