टोखामा सिसी क्यामरा जडान गरिने

काठमाडौँ / मुलुकमा हुने संगठनिक अपराधविरुद्ध प्रहरी र नागरिक समाज एक हुनुपर्ने बताइएको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोँगबुले आज यहाँ आयोजना गरेको ‘अपराध नियन्त्रण अभियानको समीक्षा र लागुऔषध नियन्त्रणका लागि एकमहिने अभियान’मा अपराध नियन्त्रणमा नागरिक र प्रहरी सँगसँगै हिँड्नुपर्ने बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नयाँ बसपार्कलाई सुरक्षित क्षेत्रका रुपमा चिनाउन गठित समूहले जिम्मेवारपूर्ण काम गर्नुपर्ने बताउनुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकामा अपराध नियन्त्रणका लागि प्रहरीलाई आर्थिक, भौतिक र नैतिक सहयोग गरिने बताउँदै अपराध नियन्त्रणका लागि नगरपालिकामा सिसी क्यामरासमेत जडान गरिने जानकारी दिनुभयो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले अपराध नियन्त्रणका नागरिक समाज आफैँ अग्रसर हुनुपर्ने बताउनुभयो । प्रहरी प्रभागका प्रमुख प्रताप पौडेलले वैशाखमा महानगरीय प्रहरी प्रभाग गोँगबुले विभिन्न आपराधिक क्रियाकलाप गर्ने ४८२ जनालाई नियन्त्रणमा लिएको र ७२ जनालाई सार्वजनिक मुद्दा चलाएको जानकारी दिनुभयो ।

प्रभागले सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा गोँगबु क्षेत्रको अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण तथा निराकरण, महिलाविरुद्धको अपराध नियन्त्रण, व्यवस्थित फुटपाथ तथा पार्किङ, होटल लज रेष्टुराँ डान्स बार व्यवस्थित, अवैध धन्दा निराकरण, गुण्डागर्दी नियन्त्रण तथा निराकरण र सार्वजनिक स्थान सरसफाइ समिति गठन गरेको सामुदायिक सेवा केन्द्रका कावा अध्यक्ष शैलेश कार्कीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्