महासङ्घको भवन बनाउन मन्त्रालयको सहयोग

ताप्लेजुङ, १ जेठ / नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको भवन निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

                                                        पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको निर्माणाधीन भवन । तस्बिर : प्रयास ।

गएको बिहीबार बसेको नेपाल सरकार मन्त्री परिषद्को निर्णयअनुसार मन्त्रालयले ताप्लेजुङ शाखालाई पाँच लाख रुपियाँ सहयोग उपलब्ध गराएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको शाखालाई प्राप्त च.नं. २२/२२४ को पत्रानुसार कार्यालय भवन निर्माणका लागि अनुदान स्वरुप उक्त रकम उपलब्ध गराएको हो । चालू आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रमबाट मन्त्रालयले सो रकम उपलब्ध गराएको जनाएको छ ।

मन्त्रालयले विनियोजन गरेको रकम पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको खातामा जम्मा भइसकेको शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शाखालाई प्राप्त भएको उक्त रकम शाखाको निर्माणाधीन भवनमा लगानी गरिने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शाखालाई रकम विनियोजन गर्नमा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको समेन पहल रहेको छ ।

यता शाखाको भवन तत्कालिन जिल्ला विकास समिति ताप्लेजुङको आर्थिक सहयोगबाट तीन वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको हो । हाल फुङ्लिङ नगरपालिकाको समेत आर्थिक सहयोगमा निर्माण हुँदै आएको भवन निर्माणधीन अवस्थामै रहेको शाखाले जनाएको छ ।

प्रयाप्त बजेटको अभावमा समयमै भवन निर्माण सम्पन्न हुन नसकेको शाखाका उपाध्यक्ष चन्द्र पन्दाक (प्रयास) ले जानकारी दिनुभयो । हालसम्म सुरुको एकलता मात्रै निर्माण भइसकेको र अहिले दोस्रो तला निर्माण भइरहेको पन्दाकले बताउनुभयो । तीन तलासम्म बनाउनेगरी सुरु गरिएको भवन निर्माण सम्पन्न गर्नलाई अझै निक्कै बजेट चाहिने र शाखासँग आफ्नो स्रोत भने केही नभएको उहाँको भनाइ छ ।

-प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्