युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

भीमदत्तनगर, २ जेठ / प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘वस्तु निकासी र बजार विश्लेषण’ तालीमको मंगलबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन पहल गर्नुपर्दछ ।” पूर्ववाणिज्य तथा आपू्र्तिमन्त्रीसमेत रहनुभएका नेता भट्टले अन्तर्राष्ट्रिय मागअनुसार वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिँदै आफू मन्त्री भएका बेलामा नै दोधारा चाँदनीमा सुख्खाबन्दरगाह निर्माणको थालनी गरेको बताउनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सुदूरपश्चिममा केन्द्रले विभिन्न सीपमूलक कार्यक्रम तथा प्रशिक्षण चलाइरहेको बताउनुभयो । “व्यापार घाटा रु आठ अर्ब नाघिसक्यो,” उहाँले भन्नुभयो, “व्यापार घाटालाई कम गर्न निकासीकर्तालाईसमेत दक्ष बनाउन आवश्यक छ ।” कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले प्रदेश नम्बर ७ मा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यालय स्थापना गर्नुपर्ने माग गर्नुभयो ।
तालीममा निर्यात व्यापारमा संलग्न प्रदेश नं ७ का २० जना व्यावसायी सहभागी छन् । रासस


प्रतिक्रिया दिनुहोस्