किसानलाई उन्नत जातको धानको बीऊ वितरण सुरु

अरुण पोष्ट संबाददाता

ताप्लेजुङ, ५ जेठ / धानको बिरुवा (बेर्ना) उत्पादन गर्ने मौसम सुरु भएसँगै जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले किसानलाई उन्नत जातको धानको बीऊ वितरण गर्न सुरु गरेको छ । जिल्ला कृषि विकास कार्यालयले खुमल–१० नाम गरेको उन्नत जातको धानको बीऊ किसानलाई जेठ १ गतेबाट वितरण गर्न सुरु गरेको हो ।

धनकुटाको पाख्रीबासबाट उक्त जातको धानको बीऊ ल्याएर ५० प्रतिशत अनुदानमा वितरण गर्न सुरु गरेको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार शाखाका प्राविधिक सहायक भोला यादवले जानकारी दिनुभयो । प्राविधिक सहायक यादवका अनुसार चार दिनको अवधिमा करिव तीन क्विन्टल (३०० किलोग्राम) जति धानको बीऊ किसानले लगिसकेका छन् । जिल्लाको फुङ्लिङ नगरपालिकासहित आठराई त्रिबेणी, मिक्वाखोला, पाथीभरा याङ्वरक, सिदिङ्बा लागयत गाउँपालिकाका किसानले धानको बीउ लगेका छन् ।

गतवर्ष फुङ्लिङ नगरपालिका वडा नं. ७ र ८ साविक दोखु गाविसका पहिरो पीडित किसानलाई जिल्लामै पहिलो पटक खुमल–१० जातको पाँच सय किलोग्राम धानको बीऊ ल्याएर निःशुल्क वितरण गरिएको यादवले बताउनुभयो । उहाँका अनुसार पहिरो पीडित किसानले लगाएको खेतीबाट गतवर्ष राम्रो उत्पादन भएपछि यसवर्ष मूल्य अनुदानमा किसानलाई वितरण गर्नेगरी कार्यालयले दुई हजार पाँच सय केजी धानको बीऊ ल्याएको छ ।

धानको ब्याड राख्ने सिजन अब मात्र सुरु हुने भएकाले हालसम्म थोरै किसानले मात्र धनको बीऊ लगेका र बीऊका लागि धेरै किसानले सम्पर्क गरिरहेका उहाँले जानकारी दिनुभयो । कृषि विकास कार्यालयका अनुसार धानको बीऊको मूल्य ८० रुपियाँ प्रतिकेजी भए पनि ५० प्रतिशत अनुदानका कारण किसानले प्रतिकेजी ४० रुपियाँ मात्र मूल्य तिर्नुपर्ने हुन्छ । यता पाँच सय देखि एक हजार पाँचसय मिटरसम्मको उचाइमा उक्त जातको धान खेती लगाउन सकिने प्राविधिक सहायक यादवले बताउनुभयो ।

ताप्लेजुङको एक नगरपालिकासहित नौ स्थानीय तहका अधिकांश वडा अर्थात साविकका गाविसमा धान खेती गर्ने गरिन्छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार साढे आठहजार हेक्टर बढी क्षेत्रफलमा धान खेती गरिन्छ भने करिव २४ हजार मेट्रिकटन धन उत्पादन हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्