राष्ट्रपति भण्डारीले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं / आज (सोमबार)सरकारले आगामी आर्थिक २०७५र७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।

अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिको नारालाई मूर्तरूप दिन ल्याइने नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट तयारीसमेत भइरहेको छ ।

संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

संयुक्त बैठक सकिएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले राष्ट्रपतिबाट भएको सम्बोधनप्रति धन्यवाद दिनेछ ।

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिइने छ ।

त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई निम्त्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्