यी कारणले गर्दा फेसबुकले हटायो ५८ करोड ३० लाख अकाउन्ट

काठमाडौं / संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन् । यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोष्ट पनि भइरहेका हुन्छन् ।

फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोष्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ । यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोष्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ । सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ । कम्पनीका अनुसार हाल भइरहेका अकाउन्टमध्ये पनि ३ देखि ४ प्रतिशत फेक नै छन् ।

त्यस्तै कम्पनीले ८६ करोड ५० लाखभन्दा बढी पोष्टहरू पनि हटाएको छ । हिंसा फैलाउने‚ आतंकवादी गतिविधिसँग सम्बन्धित‚ अश्लिलता झल्काउने किसिमका तस्बिर प्लेटफर्मबाट हटाइएको हो । त्यस्तै फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका २ सय वटा एप्स पनि हटाएको छ । यी एपबाट प्रयोगकर्ताको निजी डाटा गलत रूपमा प्रयोग हुने खतरा रहेको कम्पनीको भनाइ छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्