मुन र किमबीच पानमुनजोममा भेट

सोल, दक्षिण कोरिया / दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच शनिबार कोरियाली सीमाक्षेत्रमा रहेको शान्ति क्षेत्र पानमुनजोममा शनिबार दोस्रो शिखर सम्मेलन भएको छ । दक्षिण कोरियाली राष्टङपतिको कार्यालय बताए अनुसार दुई नेता पानमुनजोमको उत्तर कोरियाली गाउँमास्थानीय समयअनुसार शनिबार दिउसो ३ बजे भेट भई करिब दुई घण्टा सम्वाद गर्नुभएको थियो ।

भेटमा दुई नेताले गत अप्रिल २७ मा भएको पानमुनजोम घोषणापत्रको कार्यान्वयनबारे एक आपसमा विचार आदानप्रदान गर्नुभएको थियो । उहाँहरूले उत्तर कोरियाली नेता तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको तर विविधकारणले अनिश्चित बनेको शिखर सम्मेलनलाई कसरी सफल पार्ने भन्ने बिषयमासमेत छलफल गर्नुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

मुनले शिखर सम्मेलनबाट निस्केका निचोडबारे स्थानीय आइतबार बिहान जानकारी गराउने कार्यक्रम रहेको ब्लु हाउसले जनाएको छ । यसबारे राष्ट्रपतिको कार्यालयले बिस्तृत विवरण भने दिएको छैन । मुन र किमबीच गत अप्रिल २७ मा पहिलोपटक भेट भएको थियो भने उक्त भेटमा दुई नेताले कोरियाली प्रायद्वीपलाई पूर्णतया आणविक हतियारविहीन बनाउने र लामो समयदेखि कायम रहेको युद्धविराम सम्झौतालाई शान्ति सम्झौतामा रूपान्तरण गर्ने सहमति भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अगाडि बढाउन नसकिने बताउनुभएको थियो । अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्