नारायणगढ –मुग्लिन सडकको काम अिन्तम चरणमा एक किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी

चितवन/ निर्माणाधीन मुग्लिन–नारायणगढ सडकखण्डको सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । कुल ३२.२ किमी सडकमध्ये पहिलो र दोस्रो चरणको कालोपत्रेको काम सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार यही जेठ १६ गतेसम्म सबै क्षेत्र पिच भइसक्नेछ । सो सडकखण्डका कारण यात्रु तथा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको थियो । अब पिचको काम सम्पन्न भएसँगै यात्रुमात्र होइन सबै क्षेत्रलाई सहज हुने भएको छ ।

यस सडकखण्डको कुल ३३.२ किमीमा अब एक किमीमात्रै पिचका लागि बाँकी रहेको यस सडक आयोजनाका इन्जिनियर सूचना अधिकारी शिव खनालले बताए ।

उनका अनुसार मुग्लिन बजारनजिक रहेको २ नम्बर पुलदेखि चेपाङ डाँडासम्मको सडक क्षेत्रमात्र अब पिच गर्न बाँकी छ । सूचना अधिकारी खनालका अनुसार जेठ १६ गतेसम्ममा यस सडकको पूरै खण्ड पहिलो तहको पिच सम्पन्न भैसकेको हुनेछ ।
पहिलो र दोस्रो ठेक्काका कतिपय स्थानमा तेस्रो तहको पिचको कामसमेत भैरहेको छ । बाँकी रहेको एक किलोमिटर क्षेत्रमा पनि अहिले ब्ल्याक टपका लागि आधार तयार पार्ने काम धमाधम भैरहेको छ ।

पहिलो ठेक्काको १०.४ किमी, दोस्रोको १०।६ किमी र तेस्रो ठेक्काको १२.१ किमी सडक निर्माण गर्न तीन ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो ।

‘चेपाङ डाँडामा सडक विस्तार गर्न अझै समय लाग्ने हुनाले सडकछेउको भागमा एंकर विधिबाट काम भैरहने र बीचको भाग भने यातायात सहजताका लागि पिच गरिहाल्ने तयारी भएको छ’, सूचना अधिकारी खनालले भने ।

हालसम्म पहिलो ठेक्काको ८८, दोस्रोको ९७ र तेस्रोको जम्मा ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

पहिलो अर्थात् आँपटारीदेखि दासढुंगासम्मको ठेक्का बीएलए–एससिसी, दोस्रो दासढुंगादेखि सिमलतालसम्मको उड हिल लामा र सिमलतालदेखि मुग्लिनसम्मको ठेक्का सुप्रिम रौताहा जेभीले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्