बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु, १ घाइते

तनहुँ/बसको ठक्करबाट तनहुँमा ३ जना युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा सवार ४ जनामध्ये २ जनाको शनिबार राति नै घटनास्थलमा र १ जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका १ जनाको भने उपचार भइरहेको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, सोही स्थान निवासी २१ वर्षीय धिरज चौधरी रहेका छन्। गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान मृत्यु हुनेमा २२ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ३०८२ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको ना५५प १५९४ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ स्थित कमलबारीमा ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार २१ वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। मृतक २ जनाको शव दमौली अस्पतालमा र एक जनाको गण्डकी मेडिकल कलेज पोखरामा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ।

उक्त बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए। रासस


प्रतिक्रिया दिनुहोस्