अल्लोबाट आत्मनिर्भर बन्दै पर्वतका महिला

फलेवास, पर्वत / लेकाली सामुदायिक वनका चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर यहाँका महिलाले आय आर्जन गर्न थालेका छन् । उत्तरी पर्वतको जलजला–६ शालिजाका जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट मात्रै हिजोआज ५० महिलालाई जीविकोपार्जनमा सहयोग पुगेको छ ।

शुरुका दिनमा घरको काम छाडेर अल्लो खोज्न जंगल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । जसमायाका हाल क्याङ र सदरमुकाम कुश्मामा गरी दुई ठाउँ अल्लो प्रशोधन प्रशिक्षण केन्द्र छन् । कुश्मामा उहाँले प्रशोधन तथा कपडा उत्पादन उद्योग सञ्चालन गर्नुभएको छ । उद्योगबाट उहाँ आफूले मात्र आम्दानी गर्नुभएको छैन अरू महिलालाई पनि उद्यममा आकर्षित गरिरहनुभएको छ ।

केही हजारबाट शुरु गरेको जसमायाको उद्योगमा अहिले करीब रु ४५ लाख लगानी पुगेको छ । उहाँले प्रशोधन र तालीम सञ्चालन गरेर मासिक रु ६० हजारसम्म आम्दानी गर्नुहुन्छ । विसं २०५७ मा उहाँले अल्लोको उपयोगिता बुझेर प्रशोधन शुरु गर्नुभएको हो । त्यसबखत उहाँले एउटा हाते मेसिन किनेर धागो निकाल्ने र कपडा बुन्न शुरु गर्नुभएको थियो । क्याङका धेरैजसो महिला अहिले अल्लो संकलन गरेर धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बुन्ने काममा व्यस्त छन् । वनमा उपयोगविहीन अल्लो संकलन गरेर राम्रो आम्दानी हुने थाहापाएपछि क्याङका ५० महिला यो व्यवसायमा आवद्ध भएका हुन् ।

वनको चाल्ने सिस्नो खोजेर उनीहरू गाउँमै प्रशोधन गर्छन् । अल्लोका कपडा मात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी बिना पुनले बताउनुभयो । “कपडा तयार गर्नसके थोरै धागोबाट रामै आम्दानी हुन्छ,” उहाँले भन्नुभयो – “भ्याइएन भने धागो पनि बिक्छ ।” तयारी कपडा प्रतिमिटर रु सात सयसम्ममा बिक्री हुने गरेको छ । अल्लोको धागो स्थानीय बजारमा र कपडा तथा तयारी पोशाक पोखरा, काठमाडाँंै र विदेशमा समेत पठाउने गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्