गुराँस संरक्षणमा जोड

ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङमा गुराँस संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला वन कार्यालय ताप्लेजुङले शुक्रबार पाथीभरा क्षेत्रको ठूलो फेदीबजारमा आयोजना गरेको एक कार्यक्रममा सहभागी सरोकारवालाले गुराँस संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

गुराँस संरक्षण, व्यवस्थापन, सङ्कलन र नियमन सम्बन्धी आयोजित गोष्ठी कार्यक्रममा पर्यावरण जोगाउन तथा पर्यटन प्रवद्र्धन गर्नका लागि पाथीभरा क्षेत्रमा गुराँसको संरक्षण गर्नुपर्ने सहभागीले बताएका थिए । गोष्ठीमा गुराँसको प्रजाति, संरक्षण गर्नुपर्ने अवस्था, महत्व र विशेषताबारे समेटिएको कार्यपत्र जिल्ला वन कार्यालयका रेञ्जर गंगाबहादुर इङ्नामले प्रस्तुत गर्नुभएको छ ।

कार्यपत्र प्रस्तुत गर्दै इङ्नामले नेपालमा ३० भन्दा बढी प्रजातिका गुराँस पाइने र पाथीभरा क्षेत्रमा पनि धेरै प्रजातिका गुराँस पाइने बताउनुभयो । सबै अध्ययन गर्न बाँकी रहेकाले पाथीभरा क्षेत्रमा ठ्याक्कै प्रजातिको संख्या यति भन्ने चाहीँ तत्काल भन्न नसकिने बताउनुभयो । यस्तै फरेष्टर सीता योगीले पनि गुराँस संरक्षणमा सामुदायिक वन समूह लगायत सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।

यता पाथीभरा क्षेत्रमा पाइने गुराँसको संरक्षण गर्ने उद्देश्यले एक गुराँस संरक्षण समिति समेत गठन गरिएको छ । कृष्ण लिङ्खिमको संयोजकत्वमा १६ सदस्यीय संरक्षण समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा प्रेम सेम्बू रहनुभएको छ । उहाँहरु क्रमशः मयाम पातल सामुदायिक वन उपभोक्ता समिति र पाथीभरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हुनुहुन्छ ।

समितिमा सोही क्षेत्रमा कार्यरत सामुदायिक वन उपभोक्ता समितिहरु, पाथीभरा क्षेत्रमा रहेका होटल व्यवसायी, जनप्रतिनिधि लगायत संघ संस्थाका प्रतिनिधिहरु सदस्य रहनुभएको छ । यस्तै गुराँस संरक्षणबारे सम्पूर्ण जानकारी उल्लेख गरिएको होडिङ बोर्ड पाथीभरा क्षेत्रको ठूलो फेदी बजार र काफ्लेपाटीमा राखिएको रेञ्चर इङ्नामले जानकारी दिनुभयो । कार्यक्रम पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति अध्यक्ष तारानाथ घिमिरेको अध्यक्षतामा भएको थियो ।

-प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्