राष्ट्रिय सेवा दल तालिम हुने

अरुण पोेष्ट संबाददाता

ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कूलमा राष्ट्रिय सेवा दल (एनसीसी) को ४५ को ब्याजको तालिम सुरु हुने भएको छ । आइतबार सो बिद्यालयमा सुरु हुने एनसीसी ४५ औं ब्याजको नयाँ रणभीम गुल्मका गुल्मपति निर्मल खड्काले उद्घाटन गर्नुभयो ।

फाइल तस्विर ।

कार्यक्रममा गुल्मपति खड्काले बिद्यालय तह देखि नै राष्ट्रिय सेवा दलको महत्व जागृत गराउन तालिम आयोजना हुँदै आएको बताउनुभयो । बिद्यालयका प्रिन्सिपल युवराज गिरीका अनुसार राष्ट्रिय सेवा दलको यो तालिममा सो बिद्यालयका १८ छात्र र १८ छात्रा गरी ३६ जना सहभागी हुनेछन् । कक्षा ८ र ९ मा अध्यनरत बिद्यार्थीहरु मध्येबाट तालिमका लागि योग्यता पुगेकाहरुको छनौट गरी १ सय दिन लामो तालिममा सहभागी गराइने भएको छ । सय दिने तालिम अवधिको २१ दिन चाँही मोरङको याङ्शिलामा रहेको तालिम केन्द्रमा लगेर बन्द प्रशिक्षण गराइने छ ।

अघिल्लो वर्षको ४४ औं ब्याजमा सहभागीमध्ये प्रशंसा तामाङ सार्क राष्ट्रमा हुने अन्तरदेशीय अवलोकन भ्रमणका लागि छनौटमा पर्न सफल भएको लिटलबुद्धले जनाएको छ । अघिल्लो पटकको तालिममा सहभागी भएकाहरुले उत्कृष्ट प्रदर्शन गरेका आधारमा यस वर्षपनि तालिमका लागि लिटलबुद्ध नै छनौट भएको प्रिन्सिपल गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष प्रसाई, नयाँ रणभीम गुल्मका उपसेनानी गोपाल गुरुङ, जिल्ला व्याब्सनका अध्यक्ष इन्द्रकुमार गुरुङ, उज्यालो पोष्ट दैनिकका प्रधान सम्पादक खगेन्द्र अधिकारी सहितको उपस्थिति थियो । कार्यक्रम लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कूलका व्यवस्थापन समिति सदस्य सुन्दरमोहन शाक्यको अध्यक्षतामा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्