एक घर एक स्टिकर टाँस्ने अभियान सुरु

अरुण पोष्ट समाचारदाता

ताप्लेजुङ, १४ जेठ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नागरिकहरुलाई दिने सूचना र सुरक्षाका लागि सोमबारबाट जिल्लाका सबै घरधुरीमा ‘एक घर एक स्टिकर’ टाँस्ने अभियान सुरु गरेको छ ।

                                  स्टिकर टाँस्ने अभियान सुरुवात गर्नुपूर्व फुङ्लिङबजारमा निकालिएको मौन ¥याली । तस्बिर : प्रयास ।

प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सोमबारदेखि घरघरमा सूचना टाँस्ने अभियानको सुरुवात गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन र फुङ्लिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले तोक्मेडाँडामा छुट्टाछुट्टै घरमा स्टिकर टाँसेर अभियानको सुरुवात गर्नुभएको छ । स्टिकरमा प्रहरीको टेलिफोन सम्पर्क नम्बरसहित सूचनामूलक जानकारी उल्लेख छ । गाउँघरमा घटना वा दुर्घटना भए नागरिकलाई प्रहरीको सहयोग र सुरक्षाका लागि उल्लेख भएका सम्पर्क नम्बरमा फोन गर्न सकिने जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार जिल्लाका लागि २८ हजार ७० घरधुरीलाई पुग्नेगरी स्किटर प्राप्त भएको छ । उक्त स्टिकर माताहतका प्रहरी कार्यालयमार्फत सम्बन्धित स्थानीय सरकार र सरोकारवाला सङ्घ/संस्थाको समन्वयमा जिल्लाभरका सबै घरधुरीमा टाँसिने प्रनाउ बस्नेतले जानकारी दिनुभयो । “नागरिक र प्रहरी दुवैको सहकार्यबाट मात्र शान्ति सुव्यवस्था कायम हुने भएकोले यस कार्यमा नागरिकको सहयोग वा सहकार्य अनिवार्य हुने छ” बस्नेतले भन्नुभयो । ‘समाजको चौतारी छ, राष्ट्रको छहारी, नागरिक सुरक्षा हाम्रो जिम्मेवारी’ लेखिएका प्लेकार्ड र व्यानरसहित वीरेन्द्रचोकबाट सुरु भएको मौन ¥याली नगर परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभा हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा स्टिकर टाँस्ने अभियानका बारेमा प्रनाउ बस्नेतले जानकारी गराउनुभएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भद्र बोखिमले प्रहरीको सबै सम्पर्क नम्बर र ठेगाना सबै नागरिकहरुको पहुँचसम्म पुग्न नसकेको अवस्थामा यो अभियानले प्रत्येक घरधुरीलाई प्रहरीका बारेमा पूर्ण सूचना दिने बताउनुभयो । सूचनाका आधारमा प्रहरीको सक्रियता बढ्ने हो भने अभियानले सार्थकता पाउने बोखिमले बताउनुभयो । नागरिक समाजका अगुवा प्रजापति काफ्लेले स्टिकर टाँस्ने अभियानमा देखिएको सक्रियता जस्तै नागरिकले मागेको सहायता तत्काल दिने हो भने यो अभियान दीर्घकालसम्म नागरिकको बीचमा रहिरहने बताउनुभयो ।

काफ्लेले यसका लागि प्रहरी नेतृत्वले मातहतका सबै इकाई तथा कर्मचारीलाई प्रभावकारी निर्देशन दिनुपर्ने आवश्यक हुने बताउनुभयो । । शीघ्र सुरक्षा व्यवस्थापन गर्ने हो भने अभियानप्रति नागरिकको विश्वासमा बिचलन नआउने उहाँको अपेक्षा छ । यता नागरिकलाई दिइने सुरक्षाको प्रभावकारितामा कुनै कम्जोरी हुन नदिनेगरी कार्य गर्ने प्रतिवद्धता प्रनाउ बस्नेतले जनाउनुभएको छ । उहाँले नागरिकहरुको सुरक्षा आफ्नो जिम्मेवारी भएकोले सुरक्षामा कसैसँग सम्झौता नगरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई दिइने भरपर्दो सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले मातहतका सबै सुरक्षा युनिट तथा कर्मचारीलाई बिशेष निर्देशन छ ।” उहाँले स्टिकर टाँस अभियान जस्तै प्रभावकारी सुरक्षा व्यवस्थाका लागि शंका नगर्न जिल्लाबासी नागरिकलाई आग्रह समेत गर्नुभएको छ ।

 


प्रतिक्रिया दिनुहोस्