पन्ध्र जना कैदी थुनामुक्त

ताप्लेजुङ, १५ जेठ / गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट एकै दिन १५ कैदी छुटेका छन् ।

कारागार व्यवस्थापन विभागको पत्र अनुसार ४० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीलाई बाँकी कैद समय मिनाहा गरी उनीहरुलाई कारागारमुक्त गरिएको हो । जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख धनीराम सिंहका अनुसार मिक्वाखोला गाउँपालिका ५ पापुङका तेम्बा शेर्पा, आठराई त्रिबेणी गाउँपालिका ३ हाङ्पाङका शुभचन्द्र चोङ्बाङ, पथरी शनिश्चरे मोरङका प्रदिपकुमार राई, सोही ठाउँका राजकुमार राई र जीतबहादुर लिम्बूको बाँकी कैद मिनाहा गरी जेलमुक्त गरिएको हो ।

यस्तै आठराई त्रिबेणी गाउँपालिका ५ चाँगे ताप्लेजुङका पर्शुराम पाख्रिन तामाङ, पाथीभरा याङ्वरक गाउँपालिका २ थेचम्बुका प्रकाश इजम र फुङ्लिङ नगरपालिका १० फुरुम्बुका हस्तबहादुर भनिने अनिल लेछर्बो, फुरुम्बुकै कुमार लेछर्बो, मेरिङ्दन गाउँपालिका ६ नाल्बुका श्रीप्रसाद नाल्बो, सोही ठाउँका सूर्यमान नाल्बो, सिदिङ्बा गाउँपालिकाका सुनिल भनिने मनिराज इम्बुङ, मेरिङदेन गाउँपालिका २ सान्थाक्राका सुकु शेर्पा, प्रेम भनिने मिङ्मा रेञ्जी शेर्पा र काँइला भनिने फूर्वा शेर्पा पनि थुनामुक्त हुनुभएको छ ।

जिल्ला कारागारमा एक सय १६ जना कैदी रहेकोमा मङ्गलबार गणतन्त्र दिवसका अवसरमा १५ जनासहित जेठ महिनाभित्र २३ जना थुनामुक्त भइसकेका कारागार प्रमुख सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार एक र आइतबार सात जना कैदी तोकिएको कैद सजाय तथा जरिवाना बुझाएर जेलमुक्त भएका थिए । यता २३ जनाले छुट पाए पनि कारागारमा अझै ९३ जना कैदी तथा थुनुवा रहेका छन् । कारागारको क्षमता भने २५ जना रहेपनि क्षमताभन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका छन् ।

-प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्