सालकको खपेटासहित दुई पक्राउ

ताप्लेजुङ, १८  जेठ / ताप्लेजुङमा प्रहरीले सालकको खेपटासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको पश्चिमी आठराई त्रिबेणी गाउँपालिकाका स्थानीय दुई जनालाई दूर्लभ सालकको खपेटासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर मगरका अनुसार आठराई त्रिबेणी गाउँपालिका ५ चाँगे बस्ने ३८ वर्षीय सन्तोषकुमार लिम्बू र २९ वर्षीय मङ्गलसिंह लिम्बू पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दोभानबाट गएको प्रहरीको गस्ती टोलीले शङ्का लागी लिम्बूद्वयले बोकेको झोला जाँच गर्ने क्रममा करिव डेढ किलोग्राम सालकको खपेटा फेला पारेको प्रहरी निरीक्षक मगरले बताउनुभयो ।

लुकाई छिपाई झोलामा बोकेको आखेटोपहार फेला परेपछि नियन्त्रणमा लिई निजहरुमाथि अनुसन्धान थालेको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्लाको पूर्वी सिदिङ्बा गाउँपालिका–४ साब्लाखुबाट प्रहरीले एकथान भरुवा बन्दुक बरामत गरेको छ । शुक्रबार घरघरमा स्टिकर टाँस्ने अभियानसहित साब्लाखु प्रहरीचौकीबाट गस्तीमा निस्किएको प्रहरी टोलीले स्थानीय यामकुमार राईको घरमा लुकाई राखेको अवस्थामा बन्दुक बरामत गरेको हो । घरधनी नभएको अवस्थामा घरको ढोका पछाडिपटि लुकाई राखिएको उक्त बन्दुक प्रहरी टोलीले अचानक फेला पारेको प्रहरी निरीक्षक मगरले बताउनुभयो । घरधनी राईको हाल खोजी भइरहेको उहँले जानकारी दिनुभयो ।

-प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्