नेता किमलाई पुटिनले पनि भेट्न सक्ने

मस्को / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

उहाँहरूको भेटवार्ताका बारेमा अहिले सम्म कुनै निर्णय भने भइनसकेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार बताउनुभयो । उहाँले दैनिक पत्रकार सम्मेलनमा भन्नुभयो, “हो वास्तवमै त्यस्तो प्रकारको बैठक हुने सम्भावना छ ।” कुटनीतिक संयन्त्र मार्फत् भेटवार्ताका लागि आन्तरिक गृहकार्य भइरहेको तर तिथि र अन्य बिषयबारे अहिले बिस्तृतमा भन्ने अवस्था नरहेको उहाँको भनाई छ ।

गत बिहीबार मात्रै रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले उत्तर कोरियाको राजधानी प्योङयाङ भ्रमण गरेर नेता किमलाई भेट्नु भएको छ । दुवै पक्षले शीर्ष वार्ता गर्नु पर्ने महशुस गरेको र त्यो यसै बर्ष गर्ने तय भएको अधिकारीहरूले बताएका छन् । यो वर्ष कोरिया र रुसको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं बर्षसमेत भएकोे उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्