उपचार खर्चको अभाव झेल्दैछिन् ‘रीना’

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, २० जेठ / मुटुसम्बन्धी रोगबाट पीडित सोह्र वर्षीया रीना साँबा (लिम्बू) ले यतिबेला औषधि किन्ने खर्चको अभाव झेल्दै आउनुभएको छ । मुटु रोगका कारण नियमित औषधि सेवन गर्दै आउनुभएकी ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका–४ साँबा बस्ने रीनाले अहिले औषधि खरिद गर्ने खर्चको अभाव झेल्दै आउनुभएको हो । दश वर्षको कलिलो उमेरमै मुटुको रोगबाट पीडित बन्नुभएकी रीनालाई बाँचुन्जेलसम्म औषषि सेवन गर्नुपर्ने भनेपछि हाल उहाँले चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्दै आउनुभएको छ ।

रीना साँबा (लिम्बू) । तस्बिर : प्रयास ।

मुटु रोगले आक्रान्त बनाउँदै लगेपछि एक वर्षअघि पहिलो पटक उपचारका लागि बिर्तामोड झापाको बीएन्सी अस्पतालमा जाँदा त्यहाँ सम्भव नभएको र त्यसपछि काठमाडौंको कान्ति बाल अस्पताल र गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गराएको बताउनुभयो । बुबा भीमबहादुर लिम्बूको साथमा करिव छ महिनासम्म उपचार गराए पनि रोग ठीक नभएको रीनाको भनाइ छ । रोग ठीक नभएपछि उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “मुटुको रोग निको हुनुको सट्टा डाक्टरहरुले बाँचुन्जेलसम्म औषधि खानुपर्छ भनेर तीन/चार किसिमको औषधि दिएर पठायो ।” उहाँले थप्नुभयो, “बाँच्नुका लागि अहिले डाक्टरको सल्लाहअनुसार नियमित औषधि खाँदै आएको छु ।”

यतिबेला औषधिका लागि मासिक दुई हजार पाँच सय रुपियाँ खर्च चाहिने उहाँले बताउनुभयो । मेट्लक एक्स, पेनिसोल भीके, फारिन र क्यूपिल नामको औषधि सेवन गर्दै आएको पीडित रीनाले जानकारी दिनुभयो । सदरमुकाम फुङ्लिङस्थित शान्ति मादेनले सञ्चालन गर्नुभएको कञ्चनजङ्घा ढाका उद्योगमा काम गर्दै आउनुभएकी रीनालाई उक्त औषधिहरु खरिद गर्नका लागि चाहिने खर्चको अभाव रहेको छ । यसअघि उपचारबाट घर फर्के लगत्तै कान्छी आमाले कुटपिटसँगै हेला गरेपछि घर छोडेर हिँडेको बताउने रीना सुरुमा धरानमा सानीआमा कहाँ गएर केही समय बसेको, त्यसपछि तेह्रथुम फुपुकहाँ बसेको र चार महिना अघिदेखि भने फुङ्लिङमा बस्दै आएको उहाँले बताउनुभयो ।

ढाका उद्योगमा काम गर्ने फुङ्लिङकै एकजना साथीको सम्पर्कबाट आफूले पनि उद्योगमा सीप सिक्ने अवसर पाएको र अहिले यहीँ कञ्चनजङ्घा ढाका उद्योगमा काम गर्दै आएको बताउनुभयो । ढाका उद्योगमा सीप सिकेर हालसम्म चोली, फरियाजस्ता कपडाहरु बुन्न जानेको र त्यही कपडा बुनेर महिनामा एक हजार पाँच सय देखि दुई हजार पाँच सय रुपियाँसम्म पाउने गरेको उहाँले बताउनुभयो । उक्त रकमले खाने/लाउनेको व्यवस्था र औषधि खर्चको व्यवस्था समेत गर्दै आएको उहाँको भनाइ छ । काम गरेबापत पाउने रकमले खाद्यान्न जोहो गरेर केही मात्र बच्ने हुँदा औषधिका लागि रकम अभाव रहेको उहाँले बताउनुभयो । केही समय अघि ढाका उद्योगको एक कार्यक्रममा आएका फुङ्लिङ नगरका प्रमुख छत्रपति प्याकुरेल, वडा नं. ४ का वडाध्यक्ष जीतेन चेम्जोङ र घरेलु कार्यालयका उद्योग अधिकृत सुनिल आचार्यले पाँच/पाँच हजारका दरले दिनुभएको १५ हजार रुपियाँले हिजोआज औषधि किनेर सेवन गर्दै आएको पनि उहाँले सुनाउनुभयो ।

अब उक्त रकममध्ये तीन हजार जति बचेको र त्यसबाहेक औषधि किन्ने रकम नभएको उहाँले बताउनुभयो । उहाँका लागि बस्ने कोठा ढाका उद्योगकी सञ्चालक शान्ति मादेनले निःशुल्क उपलब्ध गराउनुभएको छ भने खानेपानी र बत्तीको शुल्क पनि मादेनले नै तिरिदिँदै आउनुभएको छ । कोठा भाडा, खानेपानी र बत्तीको समेत आफैंले तिर्नुपर्ने भएको भए काम गरेको रकमले एकछेउ पनि नपुग्ने उहाँको भनाइ छ । खर्च अभावका कारण महिनामा एक पटक रगत जाँच गराउनुपर्नेमा त्यो पनि अहिलेसम्म नगराएको उहाँले सुनाउनुभयो । अब औषधि खरिद गर्ने रकम कसरी जुटाउने र कसले देला भन्ने चिन्ताले सताउन थालेको पनि उहाँले बताउनुभयो ।

करिव एक वर्ष अघिदेखि बुबा र आमाले वास्ता नगरेका कारण आफ्नो यस्तो अवस्था भएको उहाँ सम्झनुहुन्छ । “घरमा बुबाले त माया गर्नुहुन्छ, औषधि उपचारका लागि खर्च दिने कुरा गर्दा पनि कान्छीआमाले देखिसक्नुहुन्न” उहाँले भन्नुभयो । घरमा चार/पाँच मनसम्म अलैँची फल्ने र अलैँचीको पैसा सबै कान्छीआमाको हात हुने उहाँले बताउनुभयो ।
यता ढाका उद्योगमा तालिम पूरा गरेपश्चात प्रमाणपत्रका लागि नागरिकता चाहिन्छ भनेपछि नागरिकता बनाइदिन बुबालाई आग्रह गर्दासमेत कान्छीआमाले रोक्नुभएको उहाँको गुनासो छ ।

नागरिकता बनाई दिन बुबासँग पटक–पटक आग्रह गर्दासमेत अहिलेसम्म पनि नबनाई दिएको उहाँले बताउनुभयो । मुटु रोगकी पीडित रीनाका अनुसार हाल उहाँकी बुबा चार वर्षअघि कान्छीआमा बिबाह गरेर सँगै बस्दै आउनुभएको छ भने एक दिदी र एकजना बहिनीसँग आमा छुट्टै बस्दै आउनुभएको उहाँले बताउनुभयो । कान्छीआमा पट्टि पनि एकजना बहिनी रहेको उहाँले जानकारी दिनुभयो । उता कञ्चनजङ्घा ढाका उद्योगका सञ्चालक शान्ति मादेनकी श्रीमान् तथा समाजसेवी अमिर मादेनले आफ्नै सल्लाहअनुसार श्रीमती शान्तिले ढाकासम्बन्धी सीप सिक्ने अवसर प्रदान गरेको बताउनुभयो । मुटुरोगले थलिएको र बाबुआमाले वास्ता नगरेको अनाथ झैं बालिकालाई आपूmहरुले आश्रय दिएको मादेनले बताउनुभयो । यतिबेला खर्च अभाव झेल्दै आएकी बालिकाका लागि औषधि खर्चमा मनकारी सहयोगीको आवश्यक रहेको र नागरिकता दिलाउनका लागि स्थानीय अगुवा तथा जनप्रतिनिधिको सहयोग चाहिने उहाँको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस्