विद्युत प्राधिकरणको ध्यानाकर्षण

ताप्लेजुङ, जेठ २१ गते / ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा करेन्ट लागेर मृत्यु भएकी एक महिलाको आफन्तले लामो समय वित्दासमेत राहत नपाएको भन्दै नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । सदरमुकाम फुङ्लिङमा रहेको हाङ्पाङ सरोकार केन्द्रमार्फत पीडितका आफन्तले सोमबार नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रको ध्यानाकर्षण गरेका हुन् ।

                                                   ध्यानाकर्षणपत्र बुझाउँदै । तस्बिर : प्रयास ।

हाङ्पाङस्थित चिमाल विद्युत सहकारी संस्थाद्वारा उत्पादित सोबुवाखोला–दोस्रो आयोजनाको विद्युत विद्युत प्राधिकरण र चिमाल संस्थाबीच खरिद विक्री भई राष्ट्रिय प्रशारण लाइनमा जडानको कार्य भइरहेको बेला घरमा मोबाइल चार्ज गर्ने क्रममा गत चैत २६ गते आठराई त्रिबेणी ३ साविक हाङ्पाङ ८ बस्ने ५२ वर्षीया सञ्चरानी मंग्रातीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते बन्नुभएकी मंग्रातीको सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंमा उपचारका क्रममा २१ दिनपछि बैशाख ९ गते निधन भएको थियो ।

मंग्रातीको मृत्यु भएको करिव दुई महिना बित्नलाग्दा समेत राहतका लागि सबै प्रक्रिया पूरा गरेपनि हालसम्म राहत नपाइएको र नेपाल विद्युत प्राधिकरणले बेवास्ता गरेको भन्दै आफन्तले ध्यानाकर्षण गराएका हुन् । प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख विष्णुप्रसाद खतिवडालाई सरोकार केन्द्रका अध्यक्ष अम्विका हाङ्बाङले ध्यानाकर्षणपत्र बुझाउँदै यथाशिघ्र राहत उपलब्ध गराउन माग गर्नुभयो । प्राधिरणले अझै बिलम्ब गरेर यो समस्याको समाधान गर्नतर्फ नलागे राहतका लागि अन्य विधिको खोजी गर्नसमेत पछि नपर्ने हाङ्बाङले बताउनुभयो ।
यता ध्यानाकर्षण बुझ्नुहुँदै निमित्त कार्यालय प्रमुख खतिवडाले पीडितलाई राहत उपलब्ध गराउनका निम्ति प्रक्रिया मिलाउने बारेमा कार्यालयले सोचिरहेको बताउनुभयो । उहाँले यस बीचमा कार्यालय प्रमुखको व्यस्तताका कारण केही ढिला हुन गएको र अब चाँडै नेपाल विद्युत प्राधिकरण, चिमाल विद्युत सहकारी संस्था र पीडित परिवारबीच बसेर समाधानको उपाय खोज्ने बताउनुभयो । प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्