प्रदेश ४ को नामाकरण अर्को बैठकमाः केन्द्र पोखरा र नाम गण्डकी राख्ने सम्भावना

पोखरा जेठ २१ / प्रदेश न ४ को आगामी बैठकले नाम र राजधानीको टुंगो लगाउने भएको छ।
प्रदेश राजधानी तथा नामांकन समितिले नाम र राजधानीका सम्बन्धमा अध्ययन गरि आम नागरिकको सुझावसहितको प्रतिवेदन सोमबारको बैठकमा पेश गरेपछि राजधानीको नाम अर्को बैठकमा टुंगो लगाउने भएको हो।

अब अर्को बैठकको दुईतिहाई बहुमतले नामको टुंगो लगाउनेछ। प्रतिवेदनका अनुसार प्रादेशिक राजधानी पोखरा र नाम गण्डकी प्रदेशको पक्षमा बहुमत देखिएको छ। प्रदेश ४ को ११ वटै जिल्लाका अधिकांश जनताले पोखरालाई नै राजधानी बनाउनुपर्ने सुझाव दिएका छन् भने धेरैले प्रदेशको नाम गण्डकी राख्न सुझाए दिएका छन्।

समितिलाई पोखराबाहेक गोरखामा राजधानी बनाउनुपर्ने तथा प्रदेशको नाम तमुवान–मगराँत, धौलागिरी प्रदेश राख्ने सुझाव समेत आएको समितिका संयोजक विन्दुकुमार थापाले बताएका छन।

तत्कालीन एमाले, कांग्रेस र जनमोर्चाले गण्डकी प्रदेश बनाउन सुझाव दिए भने माओवादीले धारणा नै नदिएको समिति संयोजक थापाले बताए। नयाँ शक्तिले भने गण्डकी तमुवान राख्न माग गरेको छ।

चैत १२ गते प्रदेश राजधानी तथा नामांकन सिफारिस समिति गठन भएको समितिले जिल्लागत सुझाव तथा छलफल र ११ पटक बैठक बसेर प्रतिवेदन पेश गरेको हो । एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी गठित समितिको दुई पटक गरी ४० दिन म्याद थपिएको थियो ।


प्रतिक्रिया दिनुहोस्