चालकले तेल बोक्न नमानेपछि राजधानीलगायत आसपासका पेट्रोल पम्प बन्द

काठमाडौं, २२ जेठ । ट्याङ्कर चालकले तेल बोक्न नमानेपछि राजधानीलगायत आसपास क्षेत्रका पेट्रोल पम्प बन्द छन् । पेट्रोलियम पदार्थको ढुवानी गर्ने क्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्यवहार गरेको भन्दै चालकले दुई दिनयता तेल बोकेका ट्याङ्कर चलाउन मानेका छैनन् ।

भारतीय प्रहरीले कुटपिट गरेको भन्दै चालकहरुले रक्सौल नाकाबाट तेल उठाएका छैन्न भने थानकोट र अमलेखगञ्ज डिपोबाट समेत पम्पहरुसम्म ढुवानी गरेका छैनन् । यस कारण राजधानीका अधिकांश पम्प तेल नभएर बन्द गर्नुपरेको नेपाल पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिएका छैन् ।

प्रधानले आइतबार चालकको हड्ताल, शनिबार सार्वजनिक बिदा परेको हुँदा तेल अभावको समस्या देखिएको बताए । त्यस्तै शनिबार मूल्य बढाउने तयारीमा रहेको निगमले शुक्रबार पम्पहरुलाई पठाउने तेलको अनुपात घटाएका कारण पनि पम्पहरुमा तेल अभाव भएको प्रधानको दाबी छ । ‘चालकको हड्तालका कारण तेल लोडरअनलोड हुन सकेको छैन, हामीसँग भएको तेल बेचिसक्यौं । त्यसैले तेल नभएका कारण पम्प बन्द भएका हुन्’, प्रधानले भने ।

नेपाल आयाल निगमले भने चालकसँगको हड्ताल सोमबार दिउँसोबाट अन्त्य भएसँगै तेल लोडिङको कार्य शुरु भइसकेको बताएको छ । निगमका प्रवक्ता बीरेन्द्र गोइतले चालकहरुले हड्ताल छाडेर काममा फर्किसकेको भन्दै नियमित ढुवानी शुरु भइसकेको बताए । ‘आपूर्ति मन्त्रलायलाई चालकहरुले ब्योहर्नुपरेको समस्याका बारेमा अवगत गराएका छौं । मन्त्रालयले भारतीय प्रशासनसँग समन्वय गरेर स्थिति सहज बनाएपछि चालकहरु नियमित काममा फर्किसकेका छन्’, गोइतले भने । काठमाडौं उपत्यकामा मात्रै हरेक दिन ५ लाख लिटर पेट्रोल तथा ९ लाख लिटर डिजेलको माग हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्