कियाचुको शाखा बिस्तार तीब्र

ताप्लेजुङ, २५  जेठ / किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले नयाँ संरचना अनुसार शाखा बिस्तारको क्रमलाई तीब्रता दिएको छ । जिल्लाको विभिन्न स्थानीय तहअन्तर्गत कियाचुले गाउँपालिका स्तरीय शाखा गठनको प्रक्रियालाई तीब्रता दिएको हो ।

शाखा बिस्तारको क्रममा जिल्लाको सिदिङ्बा र आठराई त्रिबेणी गाउँपालिकामा शाखा गठन गरेको कियाचुले जनाएको छ । सिदिङ्बामा नरबहादुर इधिङगो (लिम्बू)को अध्यक्षतामा १७ सदस्यीय गाउँपालिकास्तरीय शाखा गठन भएको छ । शाखा कार्यसमितिको उपाध्यक्षमा केदार ताम्लिङ, सचिव गौरीमान इधिङ्गो, सहसचिव मिलन खुदाङ र कोषाध्यक्षमा सुनिता ताम्लिङ (लिम्बू) चयन हुनुभएको छ ।

यस्तै आठराई त्रिबेणीमा सागर आङ्बुहाङ (लिम्बू)को अध्यक्षतामा गाउँपालिकास्तरीय कियाचु शाखा गठन भएको छ । कार्यसमिति उपाध्यक्षमा सूर्यमान यक्सो, सचिव अशोक आङ्बुहाङ, सहसचिव कर्ण थलङ र कोषाध्यक्षमा गणेश लिम्बू चयन हुनुभएको छ । यता फुङ्लिङ नगरपालिकामा सागर मादेनको अध्यक्षतामा यसअघि नै नगरस्तरीय शाखा गठन भएको कियाचुले जनाएको छ ।

आगामी असार ८ गते कियाचुको जिल्ला अधिवेशन गर्ने तयारीसँगै हाल गाउँ तथा वडास्तरीय शाखा गठनको कार्य हुँदै आएको हो । शाखा बिस्तार अभियानमा कियाचुका केन्द्रीय अध्यक्ष योगराज वनेम सहभागी हुँदै आउनुभएको जिल्ला अध्यक्ष प्रेमकुमार सेलिङ ‘सङ्गम’ ले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्