अध्यक्ष गुरुङद्धारा ४ बालबालिकाको अभिभावकत्व ग्रहण,दुई बालबालिकालाई कक्षा ८ सम्मको पढाई खर्च व्यहोर्ने

इच्छाकामना, २५ जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले ४ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । दोश्रो चरणको भर्ना अभियान अन्तरगत अध्यक्ष गीता कुमारी गुरुङले आधारभुत विद्यालय इच्छाकामना ३ फिस्लिङ (१– ८)को विद्यालयमा कक्षा ३ का एलिसा गुरुङ, खुश्वु गुरुङ सुमन विक र कक्षा १ का एलिस गुरुङलाई विद्यालय पोशाक हस्तान्तरण र भर्ना गरि अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

साथै अध्यक्ष गुरुङले आर्थिक अवस्था कमजोर भएका एलिस र एलिसा गुरुङलाई कक्षा ८ सम्म विद्यालयमा लाग्ने शैक्षिक सामाग्री पोशाक सहितका सम्पूर्ण खर्च व्यहोर्ने जिम्मा लिनुभयो । खुश्वु गुरुङ र शुमन विकलाई पनि एक बर्ष सम्म सम्पूर्ण खर्च व्यहोर्ने बताउनुभयो ।
दोश्रो विद्यार्थी भर्ना अभियान –२०७५को अवसरमा अभिभावकत्व ग्रहण गर्दे अध्यक्ष गुरुङले भन्नुभयो “ एलिसा र एलिस गुरुङको कक्षा ८ सम्मको पठनपाठनको सम्पूर्ण खर्च व्यहोर्ने छु ।” साथै सुमन विक र खुश्वु गुरुङको एक बर्षको सम्पूर्ण खर्च व्यहोर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरुङले सामुदायिक विद्यालयको गुणस्तर, र भौतिक पूर्वाधारको विकास गर्न गाउँपालिका प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
गुरुङले भन्नुभयो, ‘कुनै पनि बालबालिकाहरु विद्यालय जान पाउने अवसरबाट वञ्चित हुनु हुँदैन । सबै बाललिकाहरूलाई विद्यालय शिक्षा अनिवार्य गर्ने उद्देश्यका साथ सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको हो । यो अभियानलाई हामीहरू सबैले साथ दिनुपर्छ ।’

समुदायका सबै अगुवाहरुलाई विद्यालय पुग्न नसकेका बालबालिकाको पहिचान गरी विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
शिक्षकहरुले आफ्नो बालबालिकालाई सामुदायिक विदालयमा भर्ना गर्नु पर्नेमा जोड दिनुभयो । अध्यक्ष गुरुङले आधारभुत विद्यालय फिस्लिङमा २३ बर्ष प्रधानाध्यापक भएर सेवा गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्