तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही

ताप्लेजुङ / जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माण आगामी भदौ २० गतेभित्रै सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ हुँदै आएको पुलको निर्माण भदौ २० मा सम्पन्न नगरे कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

निर्माणमा ढिलासुस्ती भएकोप्रति गम्भीर चासो राख्दै जिसीले निर्माणस्थलमै पुगेर समयमै सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई लिखित कागज गराएका छन् । भदौ २० गतेभित्रै निर्माण सम्पन्न गर्ने र यदि नगरे कानुनी कारबाहीको भागेदार हुने भन्दै निर्माण कम्पनी कन्काई इन्टरनेसनल बिल्डर्स झापाका प्रतिनिधि प्रभुराम बिमलीले लिखतमा हस्ताक्षर गरेका छन् । वि.सं. २०७२ साल असोजभित्रै पुलको निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको लापरबाहीले हालसम्म निर्माण सम्पन्न भएको छैन । स्रोतः इमेज च्यानल


प्रतिक्रिया दिनुहोस्