नागरिकता पाएपछि दङ्ग

ताप्लेजुङ, २७ जेठ / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका जेष्ठ नागरिक गाउँमै नागरिकता पाउँदा दङ्ग भएका छन् ।

आफन्तको असहयोग लगायत विविध कारणबाट ढल्कँदो उमेरका जेष्ठ नागरिकहरु आफ्नै गाउँबाट नागरिकता पाउँदा दङ्ग भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा सिँगो गाउँपालिकालाई लक्षित गरी डुम्रिसेमा शनिबार सञ्चालित एकदिने घुम्ति शिविरबाट पाथीभरा याङ्वरक–४ डुम्रिसेकी ७१ वर्षीया वृद्धा खेमकुमारी ओलीले नागरिकता बनाउनुभएको छ ।

६९ वर्षको उमेरमा नागरिकता बनाउनुभएका डिल्लीप्रसाद थेबे । तस्बिर : प्रयास ।

२००४ साल बैशाख १५ गते जन्मनुभएकी ओलीले आफ्ना श्रीमानले नबनाई दिएको र यसअघिसम्म खासै आवश्यक पनि नपरेकाले हालसम्म नागरिकता नबनाई बसेको उहाँले बताउनुभयो । यस्तै पाथीभरा याङ्वरक–४ डुम्रिसेकी ६९ वर्षीया धनमाया राई र वडा नं. ६ थुम्बेदिनका ६९ वर्षकै डिल्लीप्रसाद थेबेले पनि नागरिकता बनाउनुभएको छ । थुम्बेदिनकै ६२ वर्षीया रामकुमारी विष्टले पनि नागरिकता बनाउनुभएको छ । उहाँहरु जस्तै घुम्तिशिविरमार्फत दर्जनको सङ्ख्यामा जेष्ठ नागरिकले नागरिकता बनाएका छन् ।

नागरिकत बनाउने जेष्ठ नागरिकहरु अहिलेसम्म आवश्यक नपरेकाले नबनाएको बताउँछन् । केहीले भने श्रीमान् तथा आफन्तसँग नागरिकता बनाइदिन भन्दा पनि नबनाई दिएको बताएका छन् । केहीले नागरिकता बनाउनलाई कागजपत्र मिलाई दिने र सनाखत गरिदिने नहुँदा नागरिकता नपाएको बताएका छन् ।

यसरी मर्ने बेलामा भएपनि आफ्नै गाउँघरबाट नागरिकता पाएको खुशी लागेको उनीहरुको भनाइ छ । नागरिकता पाएपछि अधिकांशले अब सामाजिक सुरक्षा भत्ताको लागि आवेदन दिने जनाएका छन् । गाउँमै सञ्चालित शिविरबाट अहिले जनप्रतिनिधि चयन भएपछि नागरिकता पाउनलाई जति सहज भयो, सोही अनुसार भत्ता पाउनेमा पनि आपूmहरु विश्वस्त रहेको उनीहरुले बताएका छन् ।

यसैबीच एक दलित परिवारका तीन दिदीबहिनीले एकैचोटी नागरिकता पाएका छन् । शिविरमार्फत पाथीभरा याङ्वरक–६ थुम्बेदिन बस्ने पदमलाल सार्कीका तीन बहिनी छोरीहरुलाई नागरिकता प्रदान गरिएको छ । सार्कीका २२ वर्षीया कमला सार्की, २१ वर्षीया विमला सार्की र १८ वर्षीया निर्मला सार्कीले नागरिकता पाउनुभएको छ । वगीय परिवारका सार्कीले गाउँमै तीन बहिनी छोरीको नागरिकता बनाई दिन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँका छोरीहरु पनि नागरिकता पाउँदा खुसी लागेको बताएका थिए ।

– प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्