सहकार्य र सहमतिका आधारमा अघि बढ्नेः मुख्यमन्त्री सुब्बा

पोखरा / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आव २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ ।

आइतबारको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा गत २१ गते टेबुल भएको प्रदेशको नामाङ्कन तथा राजधानी विषयक समितिको प्रतिवेदन सम्बन्धमा छलफल हुनुपर्ने मागसहित सभा अवरोध गरेकामा आज भने दलबीच सहमति भएसँगै बैठक सञ्चालन भएको हो । बैठक प्रारम्भ भएसँगै काँग्रेसका प्रदेशसभा सदस्य आआफ्ना स्थानमा उठेपछि सभामुख सिर्जना शर्माले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न समय दिनुभएको थियो ।

नेपालीले आइतबारको बैठकमा प्रतिपक्षी दलले अवरोध गरिसकेका अवस्थामा संसदीय परम्परा विपरीत मार्सल लगाएर बैठक सञ्चालन गरिएकाप्रति आपत्ति जनाउनुभयो । संसदीय परम्पराको गरिमा र महत्वका साथै प्रतिपक्षको भूमिकालाई सम्मान गर्न सत्तापक्ष तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतिपक्षी नेपाली काँग्रेसले उठाएका विषयमा धारणा राख्दै प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य र सहमतिका आधारमा अघि बढ्ने बताउनुभयो ।

प्रतिपक्षले उठाएका विषयमा सरकार सकारात्मक भएको बताउँदै उहाँले प्रदेशमा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य धनञ्जय दवाडी, मेखलाल श्रेष्ठ, दीपक कोइराला, पियारी थापा र हरिशरण आचार्यले समाजका सबै वर्ग र समुदायको अपनत्व कायम हुने गरी प्रदेशको समृद्धि र विकासका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्