रमजानको समय काबुलमा भएको आक्रमणमा १२ को मृत्यु ३१ घाइते

काबुल /अफगानिस्तानको काबुलमा भएको एउटा आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

आत्मघाती सो आक्रमणमा परी अरु कम्तीमा ३१ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । कार्यालयको काम सकेर रमजान मनाउन घर तर्फ जानका लागि बसको प्रतिक्षामा रहेकाहरूमाथी बम आक्रमण भएको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।

ग्रामिण पुनर्उद्धार तथा विकास मन्त्रालयको मुल प्रवेशद्वारमै विस्फोटनको घटना भएको प्रहरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । घर जानका लागि बस कुरिरहेका कर्मचारीहरुको भिड भएको ठाँउमा आत्मघाती आक्रमणकारी घुसपैठ गरेर बम विस्फोटन गराएको ग्रामिण मन्त्रालयका प्रवक्ता फारिडुम अजहान्डले बताउनुभयो ।

“मेरा सहकर्मीहरू रमजान मनाउनका लागि घर जान कार्यालयबाट विदा लिएका थिए, उनीहरूमाथि भएको आक्रमणको घटनाले मलाई निकै दुःखी बनाएको छ,” एक जना कर्मचारीले भने । स्थानीय समयअनुसार दिउसो एक बजेतिर आक्रमण भएको र कार्यालयका कर्मचारीहरूलाई नै लक्षित गरेर आत्मघाती आक्रमण गराइएको प्रहरीका प्रवक्ता हस्मात स्टानिक्जाइले बताउनु भयो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्