सडक नियम पालना नगर्नु दुर्घटनाका कारण

तुलसीपुर, /  कानून कार्यान्वयन नहँुदा सडक दुर्घटना बढेकाले बढदो सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि सरोकारवाला निकाय, यातायात व्यवसायी, नागरिक समाज सबै जिम्मेवार भएर लाग्नुपर्ने आज यहाँ आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरूले विचार व्यक्त गर्नुभएको छ ।

फाइल तस्बिर

प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा गरिएको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता र बढ्दो सवारी दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राख्नुभएको हो । उहाँहरूले अहिले पनि सवारी साधनले क्षमताभन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, सडकको अवस्था बारेमा अनभिज्ञ हुने र तीव्र गतिमा गाडी चलाउने लगायतका कारणले गर्दा दुर्घटना दिन प्रतिदिन बढी रहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायाधीश महेश शर्मा पौडेलले सडक तथा यातायातसम्बन्धी ऐन, कानून कार्यान्वयन नहँुदा सडक दुर्घटना बढेको बताउनुभयो । उहाँले सर्वसाधारणदेखि ठूलो व्यक्तिले समेत कानून मिच्ने गरेको बताउनुभयो ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकार पनि सहकार्य गरेर अगाडि बढ्न तयार छ भन्नुभयो ।

कार्यक्रममा प्रदेशको सवारी दुर्घटनाको अवस्था, प्रहरीले नियन्त्रणसम्बन्धी गरेको काम कारबाहीका बारेमा जानकारी गराइएको थियो । सम्मेलनमा १२ जिल्लाका प्रहरी प्रमुखसहित २०० भन्दा बढी प्रहरी अधिकृतको सभागिता रहेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्