सभामुख र उपसभामुखको राजीनामाको विषयमा संसदमा जुहारी : कांग्रेसद्वारा कुनै एकको राजीनामा माग

काठमाडौँ, ३० जेठ / सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच जुहारी चलेको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था अनुसार कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् ।

उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन गर्न माग गरे । ‘ससदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकीकरण भई नेकपा गठन भएकामा बधाई र शुभकामना छ ।’ उनले भने,‘यसकारण उहाँहरु अब एउटै दलबाट प्रतिनिधित्व हुने भएकाले सवैधानिक व्यवस्थाको कार्यन्वयनहोस् ।’

खाँडले सभामुख र वा उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्ने आशयको अभिव्यक्ति दिइरहेकै बेला नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति गरेका थिए । खाँडले बोलिसकेपछि सभामुखले अधिकारीलाई समय दिए । नेकपा सांसद अधिकारीले सभामुख र उपसभामुख अहिले कुनै पनि दलसँग सम्बन्धित नभएकाले यो कुरा बारम्बार उठाउनुको अर्थ नरहेको बताए । उनले उपसभामुखमा चुनाव हारेकी कांग्रेस सांसद पुष्पा भुसालले समेत राजीनामा मागेको भन्दै पराजित मानसिकता नदेखाउन चुनौती दिए ।

अधिकारीले भने – सभामुख र उपसभामुख अहिले कुनै पनि दलमा आवद्ध हुनुहुन्न । बारम्बार उठाइरहँदा संसदको माखौल उडाउने काम भएको छ । यस्तो कुरा बन्द गरियोस् । कांग्रेस सांसद तेजुलाल चौधरीले संवैधानिक प्रश्न उठाउँदा सत्तापक्षले प्रतिवाद गर्नु दुई तिहाईको दम्भ प्रकट भएको बताए ।

 

 

 


प्रतिक्रिया दिनुहोस्