विकट गाउँबाट विकास थाल्नुस् : सभामुख महरा

दाङ / सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिनुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग आज घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

विपन्न बस्तीका स–साना योजनालाई प्राथमिकता दिन सभामुख महराले सुझाव दिनुभयो । अबको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकीकरण गर्न आवश्यक रहेको भन्दै उहाँले आमनगरवासीलाई विकासको अनुभूत हुने गरी काम गर्न आग्रह गर्नुभयो ।

उहाँले नगरले सक्ने योजनालाई आवश्यकतामा आधारित ढंगले पूर्णता दिनुपर्ने र मझौला खालका योजनालाई प्रदेश र ठूलो योजनालाई केन्द्रीय सरकारले पूर्णता दिने उल्लेख गर्नुभयो । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सभामुख महराले अब जनताको जीवनस्तर उकास्ने शैलीबाट विकास गरिनेसमेत आश्वासन दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण प्रक्रियालाई सहज ढंगले अघि बढाउन आग्रह गर्नुभयो । सभामुख महरा स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारीको पूर्वसन्ध्यामा आफ्नो चुनावी क्षेत्रमा आउनुभएको हो । रासस


प्रतिक्रिया दिनुहोस्