पहिलो पटक बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग सम्झौता हुँदै

बेइजिङमा आज बिहिबार पहिलो पटक हिमालयपार रेलमार्ग निर्माण सम्बन्धी सम्झौता हुँदैछ। चीनको स्वसाशित क्षेत्र तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग केरङ हुँदै काठमाडौं जोड्न बेइजिङमा नेपाल र चीनबीच सम्झौता हुन लागेको हो।

छिङ्हाइ–तिब्बत रेल , चाइना डेली

पछिल्लो समय करिब दश वर्षयता केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे बहस हुँदै आएको छ भने दुई वर्ष अघि प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा यो परियोजना अगाडि बढाउने सहमती भएको थियो।

चीनले नेपाल र भारतको सिमा क्षेत्रसम्म विस्तार गर्ने तयारी अन्तर्गगत आफ्नो रेलमार्ग तिब्बतको सिगात्सेसम्म विस्तार गरिसकेको छ। बुधबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनफिङले प्रधानमन्त्री ओलीसँगको भेटमा ‘सिगात्से पुगेको रेलमार्ग चाँडै काठमाडौं जोडिनेमा आफु विश्वस्त रहेको’ बताउँदै यो परियोजना तीब्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको बताएका थिए।

राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्तापछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ५–७ वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग निर्माण गरिसक्ने तालिका नै बनाएर छलफल भएको बताएका छन्। ज्ञवालीका अनुसार अहिले भइरहेको पूर्व संभाव्यता अध्ययन अर्को दुई महिनाभित्रै सक्ने गरी तयार गरिएको समझदारीपत्रमा बिहिबार हस्ताक्षर हुँदैछ। त्यसपछि सिधै विस्तृत परियोजना प्रतिवेदन बनाइने र त्यसका लागि डेढ वर्ष समय लाग्ने अनुमान छ।

 

ग्रेटहलमा सी–ओली

‘करिब डेढ वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार हुन्छ’, ज्ञवालीले बुधबार बेइजिङमा सञ्चारकर्मीबीच भने, ‘त्यसपछि काम थालेको करिब पाँच वर्षमा निर्माण कार्य सकिन्छ।’

राष्ट्रपति सीले ओलीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा आफ्नो टोलीमा स्टेट काउन्सिलर याङ जेइची, परराष्ट्रमन्त्री वाङ यीसहित नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका अध्यक्ष हे लिफेङलाई पनि सहभागी गराएका थिए। जसले नेपालसँग रेलमार्ग लगायत पूर्वाधार निर्माण योजनामा चीनले लगानी गर्न चाहेको संकेत गर्छ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटपछि साँझ एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का अध्यक्ष जीन लिछुनसँग नेपालमा लगानीको संभावनाबारे छुट्टै परामर्श पनि गरेका छन्। एआइआइबी नेपालको समेत संलग्नतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले चीनको पहलमा स्थापना गरिएको बैंक हो।

चीन भ्रमणको तेस्रो दिन बिहिबार प्रधानमन्त्री केपी ओलीले ग्रेट हल अफ दी पिपलमा चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्दैछन्। र भेटवार्तापछि रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सहित नेपाल–चीनबीच उर्जा सहयोग, अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण लगायतका सम्झौता हुँदैछ।

प्रधानमन्त्री ओली र लीबीचको औपचारिक वार्ता अपरान्ह ५ बजे तय गरिएको छ। ओली र लीले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच करिब एक घण्टा औपचारिक वार्तापछि आधा दर्जन सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

औपचारिक वार्ताअघि चीनका प्रधानमन्त्री लीको उपस्थितिमा चीनको जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिनेछ। वार्तापछि लीले ओलीको सम्मानमा रात्री भोजको आयोजना गरेका छन्।

दुई प्रधानमन्त्रीबीच भेटवार्ताअघि चीनको संसद, नेशनल कंग्रेसका अध्यक्ष ली झाङसुले ग्रेट हल अफ द पिपुलमा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टस्द्वारा आयोजित नेपाल–चीन मैत्री दौडको उद्घाटन गरेका छन्। नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम राखिएको हो।

त्यसलगत्तै ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी स्कुल विभागसँग छलफलमा सहभागी भएका छन्। source : nepalkhabar


प्रतिक्रिया दिनुहोस्