यो एक तस्वीरले सबैलाई भित्रैदेखि हल्लाइदियो, ट्रम्पको विरुद्ध उभिए अमेरिकी नागरिक

एजेन्सी/ रोइरहेकी यी बालिकाको तस्वीर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । यो फोटोले मानिसहरुलाई भित्रैदेखि हल्लाइदिएको छ । यही तस्वीरका कारण ट्रम्प सरकारको अवैध आप्रवासीविरुद्धको नीतिको अमेरिकामै विरोध सुरु भयो । मानिसहरुले यो नीतिलाई अमानवीय भन्दै फिर्ता लिन माग गरे । यो नीति अन्तर्गत अवैध रुपमा अमेरिका छिरेकाहरु र उनका सन्तानलाई छुट्याइँदै थियो ।

यो फोटो अमेरिकी फोटोग्राफर जोन मुरेले खिचेका हुन् । यो फोटो अघिल्लो हप्ता टेक्सासनजिकै प्रहरीले यी बालिकाकी आमाको तलाशी लिँदै गर्दा खिचिएको थियो । तस्वीर सामाजिक संजालमा हेर्दाहेर्दै भाइरल भयो । जोन मुरेले फोटोग्राफीका लागि प्रतिष्ठित पुलित्जर पुरस्कारसहित अनेकौं पुरस्कार जितेका छन् । एक च्यानलसँग कुराकानी गर्दै मुरेले भने ‘ती बालिका आफ्नी आमाको काखमा निकै डराएकी थिइन् । प्रहरी अधिकारीले महिलालाई छोरीलाई भुइँमा राख्न भने ताकि उनले तलाशी लिन सकुन् । जब बालिकालाई भुइँमा राखियो उनी रुन थालिन् ।’

यो फोटोको माध्यमबाट अमेरिका सरकारको आप्रवासी विरुद्धको नीतिको विरोध हुन थाल्यो । कैयौंले यो नीतिलाई अत्यन्तै अमानवीय बताए । विरोध गर्नेमा ट्रम्पको रिपब्लिकन पार्टीका सांसद पनि थिए । अन्ततः ट्रम्पले पछि हट्दै यो नीति फिर्ता लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्