रुपा गाउँपालिकाको बजेट ३२ करोड ७७ लाख

पोखरा, ९ असार / रुपा गाउँपालिकाले आव २०७५/७६ का लागि रु ३२ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाद्वारा आज आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक, खानेपानी, कृषि, पर्यटनलगायत विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

आव २०७५÷७६ लाई गाउँपालिकाको आर्थिक समृद्धिको आधारको वर्षका रुपमा लिइने बताउँदै उहाँले यस वर्ष उत्पादनमूलक र लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी बजेट तयार गरिएको बताउनुभयो । जनताको आयस्रोत वृद्धि, खाद्य सुरक्षा, स्वच्छ खानेपानी, स्वास्थ्य, शिक्षा पूर्वाधार विकासलाई मुख्य आधारका रुपमा लिँदै सञ्चित कोषबाट आवश्यक बजेट विनियोजन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

गाउँपालिकाले युवा तथा बेरोजगार लक्षित गरी पेशा र व्यवसाय गर्न चाहनेका लागि गाउँपालिका संरक्षक रहने गरी सहकारीको ढाँचामा न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्थाका लागि रु ५० लाख विनियोजन गरेको छ ।

बाँझो जग्गाको सदुपयोग गर्न भूमि बैंकको अवधारणालाई अवलम्बन गर्ने नीति गाउँपालिकाले लिएको छ । जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्न आवश्यक करको दरमा संशोधन गरी दोब्बर बनाइएको छ भने बाँझो जग्गा गाउँपालिकालाई निश्चित अवधिका लागि निश्चित दरमा भूमि बैंकमा राख्न सकिने व्यवस्था मिलाइएको छ । सो कार्यका लागि रु २५ लाख विनियोजन गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले चिसापानी, मरज्याङकोट, खडागाउँ, कुमाल गाउँ, तालबँेसी, भंगराजमलकुनालगायत गाउँलाई होमस्टे गाउँका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिकाभित्र उद्योग ग्राम स्थापना गर्न प्रदेश र केन्द्रसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘एक घर, एक धारा’ निर्माण गर्न यस वर्षलाई खानेपानीको वर्षको रुपमा मनाउने योजना राखेको गाउँपालिकाले खानेपानीका लागि रु एक करोड ४२ लाख विनियोजन गरेको छ ।

सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले रणनीतिक महत्वमा शिशुवा, पोल्याङटार, रुपाकोट, थुम्की र बेगनास भोर्लेटार रुपा रिङरोडलगायत सडकको स्तरोन्नति एवं कालेपत्रे गर्ने जनाएको छ । सडक पूर्वाधारका लागि रु एक करोड ३० लाख विनियोजन गरेको छ ।

गाउँपालिकाले पशु विकासका लागि रु एक करोड ३० लाख, सहकारीका लागि रु ५५ लाख, सामाजिक समावेशीकरण र सुरक्षाका लागि रु १२ लाख, लैङ्गिक तथा बालबालिका समावेशीकरणका लागि रु नौ लाख, संस्कृति प्रवद्र्धनका लागि रु १३ लाख, स्वास्थ्यका लागि रु ३० लाख, युवा तथा खेलकूदका लागि रु १५ लाख छुट्याएको छ । त्यस्तै गाउँपालिकाले शिक्षातर्फ रु ३० लाख, विज्ञान प्रविधिका लागि रु १५ लाख, सिँचाइतर्फ रु २२ लाख र भवनतर्फ रु २० लाख विनियोजन गरेको छ ।

नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिकीकरण कार्यक्रममा पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले कुनै पनि विकास निर्माणमा इमान्दारिता एवं जिम्मेवारिता आवश्यक रहेको बताउँदै अनियमितता गर्ने जो कोही कारबाहीको दायरामा ल्याउने उल्लेख गर्नुभयो । स्थानीय तहले जनताको सहमतिका आधारमा स्थानीय स्रोत साधनको भरपुर उपयोग गर्दै राजस्व संकलनमा वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य दीपक कोइरालाले प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा एउटा उद्योगग्राम स्थापना गरी रोजगार सिर्जना गर्ने लक्ष्य लिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य नारायण श्रेष्ठले बजेट कार्यान्वयन एवं विकासका लागि पार्टीका तर्फबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा गाउँपालिकाका सातवटै वडामा विकास निर्माणका काम समयमा नै सम्पन्न गर्ने उपभोक्ता समितिका अध्यक्ष जनप्रतिनिधिलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्