टर्कीमा राष्ट्रपति र संसद्को निर्वाचन

अङ्कारा / टर्कीमा राष्ट्रपति र संसद्को निर्वाचनका लागि आइतबार मतदान भएको छ ।

स्थानीय समयअनुसार बिहान ०८ बजे सुरु भएको मतदान बेलुका ५:०० बजेसम्म जारी रहने सरकारी अधिकारीले जनाएका छन् । टर्कीका पाँच करोड ९० लाख मतदातालाई देशभरका एक लाख ८० हजार मतपेटिका राखिएको छ । यहाँ सुरक्षाको निकै कडा प्रबन्ध गरिएको बताइएको छ ।

यस निर्वाचनबाट यहाँ नयाँ राष्ट्रपति चयन हुने र संसद पनि नयाँ बन्ने छ । यी दुवै निर्वाचन एकैसाथको मतदानबाट हुने व्यवस्था गरिएको हो । अहिलेको निर्वाचनले टर्कीलाई नयाँ युगमा प्रवेश गराउने अपेक्षा गरिएको छ । संसदीय व्यवस्थाबाट मुलुकलाई राष्ट्रपतीय प्रणालीकोे अभ्यासमा लान खोजिएकोले मुलुकमा नयाँ राजनीतिक प्रणालीको शुरुआत हुनेछ ।

यो निर्वाचनले राष्ट्रपतिलाई प्रत्यक्ष मतदानमार्फत निर्वाचित गर्नेछ । त्यसैगरी देशका ८१ प्रान्तमा ६०० जना सांसद पनि यही मतदानबाट चुनिने छन् । सन् २०१७ को अप्रिल १६ मा घोषणा भएको नयाँ संविधानअनुसार यो पहिलो पटक नयाँ निर्वाचनको घोषणा गरिएको हो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्