ताप्लेजुङमै पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ११ असार / ताप्लेजुङ जिल्ला अस्पतालमा जिल्लामै पहिलो पटक रक्त सञ्चार केन्द्रको स्थापना गरिएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल र फुङ्लिङ नगरपालिकाको संयुक्त पहलमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो ।

रक्त सञ्चार केन्द्रको सोमबार फुङ्लिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेलले उद्घाटन गर्नुभएको छ । केन्द्रको उद्घाटन गर्नुहुँदै नगरप्रमुख प्याकुरेलले अब रगतको आवश्यक पर्ने विरामी वा सेवाग्रहीले खेप्दै आएको समस्याको अन्त्य हुने विश्वास गर्नुभयो । उहाँले रक्त सञ्चार केन्द्रको स्थापनापछि आकस्मिक रगत चाहिने बिरामीलाई सहज हुने र नियमित रुपमा केन्द्र सञ्चालनका लागि रगत दान गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

जिल्लामा हालसम्म रक्त सञ्चार केन्द्र नहुँदा आवश्यक रगतको अभावमा अस्पतालले जोखिमपूर्ण रुपमा विरामीको उपचार गर्दै आएको थियो । रगतको अभावकै कारण बिरामीहरु जोखिममा पर्दै आएका थिए भने थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता पनि थियो । यता रक्त सञ्चार केन्द्रको स्थापनासँगै रगतको अभाव खेप्दै आएको विरामीहरुलाई सहज हुने भएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका पूर्वसभापति गणेश अधिकारीले बताउनुभयो ।

अधिकारीले रगतको अभावमा बिरामीहरुको ज्यान समेतको जोखिम टरेको र जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँका अनुसार रक्त सञ्चार केन्द्र नभएपनि विगत २०६० सालदेखि रेडक्रस सोसाइटी र जिल्ला अस्पतालले विरामीका लागि रगत उपलब्ध गराउनमा पहल साथै सहजीकरण गर्दै आएको थियो । हालसम्म रगतको आवश्यक परेका विरामीलाई अस्पताल र रेडक्रसको आग्रहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय युवा लगायतले उपलब्ध गराउने गरेका थिए । अब जिल्लामै रक्त सञ्चार केन्द्र स्थापना भएपछि सुत्केरी तथा दुर्घटनामा परेका आकस्मिक बिरामीहरुलाई तत्काल रगतको व्यवस्था गर्न सकिने भएको जिल्ला अस्पतालले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्