ताप्लेजुङलाई छ महिनाभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङ, ११ असार / आगामी छ महिनाभित्र ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालयले अभियानलाई तीव्र बनाउने जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले पूर्ण खोपयुक्त घोषणा अभियानका लागि सम्बन्धित वडासँग समन्वय र सहयोग माग्ने तयारी गरिरहेको छ । आइतबार बसेको पूर्णखोप समन्वय समितिको बैठकमा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर सचिन यादवले छ महिनाभित्र ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी थालिएको जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख यादवका अनुसार हालसम्म जिल्लाका ६१ वटा वडामध्ये ५८ वडा पूर्ण खोपयुक्त भइसकेका छन् ।
डाक्टर यादवले बाँकी रहेका १३ वटा वडामा पनि प्राविधिक पक्षका सबै प्रक्रिया पूरा भएको तर, केही प्रक्रियागत समस्याका कारण घोषणा हुन भने नसकेको जानकारी बताउनुभयो ।

अब सम्पूर्ण प्रक्रिया पूरा गर्ने कार्यको दायित्व स्थानीय तह र सम्बन्धित वडा कार्यालयको हुने यादवको भनाइ छ । उहाँका अनुसार पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं. १ नाङ्खोल्याङ, फक्ताङ्लुङ गाउँपालिकाको वडा नं. २ खेजेनिम, वडा नं. ३ लिङ्खिम, ४ इखाबु, ५ तापेथोक, ६ लेलेप र वडा नं. ७ ओलाङ्चुङगोला पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका छन् । यस्तै सिरीजङ्घा गाउँपालिकाको वडा नं. २ सिनाम ३ सिकैंचा र वडा नं. ४ तेल्लोक र मैवाखोला गाउँपालिकाको वडा नं. ३ र ४ साँघु बाँकी रहेको छ । खोपयुक्त वडा घोषणा हुन बाँकी रहेको अवस्थालाई हेर्दा फक्ताङ्लुङ गाउँपालिकाको वडा नं. १ बाहेक सबै वडा रहेकाले अरुभन्दा बढी समय उक्त गाउँपालिकामा खर्चिनुपर्ने भएको जिल्ला खोप समन्वय समितिको बुझाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समिति अध्यक्ष घनेन्द्र मादेनले पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियानमा सबै वडाले सहयोग गर्नुपर्ने बताउनुभयो । खोपयुक्त क्षेत्र विकासको सूचाङ्कको एउटा नमूना भएकाले घोषणा हुन बाँकी रहेका वडाले यो अभियानलाई प्राथमिकता दिन मादेनले आग्रह गर्नुभयो । यता जिल्ला जनस्वास्थ्य अधिकृत दीपक अधिकारी पूर्ण खोपयुक्त बनाउने अभियानको अग्रसरता स्थानीय तहले लिए आफूहरु प्राविधिक सहयोगका लागि तयार रहेको बताउनुहुन्छ । अधिकारीले केही वडा खोपयुक्त हुन नसक्दा जिल्लाकै स्वास्थ्य सूचक प्रभावित हुने भएकोले यसमा सम्बन्धित स्थानीय सरकारका वडाहरुले गम्भीरता र संवेदनशिलता अपनाउनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी नरहरि भण्डारीले ७० प्रतिशत भन्दा बढी क्षेत्र पूर्ण खोपयुक्त भइसकेको जिल्लालाई अब ३० प्रतिशतले रोक्न नहुने बताउनुभयो । भण्डारीले सबैको ध्यान पूर्ण खोपयुुक्त जिल्ला बनाउने अभियानमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिनुभयो ।

पाँच स्थानीय तह पूर्ण खोपयुक्त क्षेत्र

ताप्लेजुङका नौ स्थानीय तहमध्ये पाँचवटा पूर्ण खोपयुक्त भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख डा. यादवका अनुसार फुङ्लिङ नगरपालिकासहित मिक्वाखोला, मेरिङ्देन, सिदिङ्वा र आठराई त्रिबेणी गाउँपालिका पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । २०७२ साल माघ २५ गते पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बूलाई साविकको पहिलो पूर्ण खोपयुक्त गाविस घोषणा गरेर अभियानको सुरुवात भएको थियो । हाल थेचम्बु पाथीभरा याङ्वरक गाउँपालिकाको मुकाम (केन्द्र) हो ।

-प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्