अस्पताललाई भवन हस्तान्तरण

अरुण पोष्ट संबाददाता

ताप्लेजुङ, ११ असार / जिल्ला अस्पताल परिसरमा ताप्लेजुङ समाज युके लण्डनको आर्थिक सहयोगमा निर्माण भएको भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज युकेको आर्थिक सहयोगमा दोस्रो चरणअन्तर्गत निर्माण भएको बैकठ कक्ष र चमेना गृह (क्यान्टिन) सहितको भवन सोमबार जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो ।

कुल २७ लाख ८८ हजार २७१ रुपियाँमा निर्माण भएको उक्त भवनको प्रमाणपत्र ताप्लेजुङ समाज युकेले लण्डनकी अध्यक्ष अमृता पालुङ्वाले अस्पताल विकास समितिका अध्यक्ष तेन्जिङ शेर्पालाई हस्तान्तरण गर्नुभयो । यसअघि पहिलो चरणअन्तर्गत ताप्लेजुङ समाज युकेले उक्त भवनको पहिलो तला निर्माण गरी गतवर्ष अस्पताललाई हस्तान्तरण गरेको थियो ।

गतवर्ष कुल ४० लाख ९३ हजार ६८५ रुपियाँको लागतमा भवनको पहिलो तला निर्माण भएको थियो भने यसवर्ष सोही भवनको दोस्रो तला निर्माण गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको कार्यक्रम फिल्ड डाइरेक्टर गणेश अधिकारीले जानकारी दिनुभयो । यसअघि निर्माण भएको भवनमा जिल्ला अस्पतालको फार्मेसी, ल्याव लगायतका कक्षहरु सञ्चालनमा रहेका अस्पताल स्रोतले जनाएको छ ।

यसैगरी ताप्लेजुङ समाज युकेले जिल्ला अस्पतालका लागि दुईतले भवन निर्माण गरिदिनुका साथै सोही भवनमा पाँच लाख २३ हजार १५० रुपियाँको लागतमा सोलार जडान समेत गरी दिएको छ । प्रोजेक्ट फिल्ड डाइरेक्टर अधिकारीका अनुसार समाजले तीन वर्ष अघि जिल्लाको साविक खोक्लिङ, लिबाङ, सान्थाक्रा लगायतका गाविसमा गएको पहिरोका पीडित परिवारलाई १० लाख ५२ हजार १८५ रुपियाँ, तोक्मेबजार आगलागी पीडितका लागि चार लाख २९ हजार ४९१ रुपियाँ र दोखुमा गएको पहिरोका पीडित परिवारका लागि एक लाख ७८ हजार ७०० रुपियाँ बराबर आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

भवन हस्तान्तरण कार्यक्रममा १ नम्बर प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गाम, जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई (तारा) लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्