लागूऔषध विरुद्ध जनचेतना फैलाउन आवश्यक

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १२ असार / ताप्लेजुङमा लागूऔषध विरुद्ध जनचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन् । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङ्गलबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रममा कुलतबाट अलग रहन जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको छ ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन फुङ्लिङमा निकालिएको प्रभातफेरी । तस्बिर : प्रयास ।

गत साताको बुधबारदेखि सुरु गरिएको सप्ताहब्यापी दिवसको अन्तिम दिनको कार्यक्रम फुङ्लिङ नगरपालिकाको सहआयोजना तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो समय लागूऔषधको दुरुपयोग तथा ओसारपसारको क्रम बढ्दै गएकोमा कार्यक्रममा सहभागीले चिन्तासमेत व्यक्त गरेका छन् । कार्यक्रममा वक्ताहरुले लागूऔषध विरुद्ध जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै कोही कसै कुलतमा फस्न लागेका छन् भने त्यस्तालाई कुलतबाट छुटाउन सकारात्मक पहल हुनुपर्ने उनीहरुले बताएका छन् । कुलत विरुद्ध प्रहरी, युवा, अभिभावक लगायत सरोकारवाला सबै लाग्नुपर्नेमा पनि जोड दिइएको छ । मङ्गलबार बिहान सदरमुकाम फुङ्लिङमा प्रभातफेरी समेत गरिएको थियो ।

यसैबीच लागूऔषध सप्ताह अभियान सुरु भएयता प्रहरीले जिल्लाका विभिन्न ठाउँमा लगाइएको सयौं झ्याँङ गाँजाको बोट नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका ४ तेल्लोकमा ६० झ्याँङ, पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङमा ९०झ्याँङ र वडा नं. २ थेचम्बूमा ३० झ्याँङ जति गाँजाको बोट नष्ट गरिएको छ । यस्तै फुङ्लिङ नगरपालिका ५ को उकालीपानी क्षेत्रमा करिव एक सय २० झ्याँङ जति गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्