ताप्लेजुङमा नसर्ने रोग बढ्दै

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १२ असार  / ताप्लेजुङमा नसर्ने रोगका संक्रमितको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय मुटु, मृगौला, मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगका संक्रमितको संख्या बढ्दै गएको हो ।

                                                                   पत्रकार तथा सञ्चारकर्मीबीच स्वास्थ्यसम्बन्धी अन्तक्र्रिया ।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार तथा सञ्चारकर्मीबीच स्वास्थ्यसम्बन्धी अन्तक्र्रियामा सरुवा रोगभन्दा नसर्ने रोग फैलिँदै गएको जनाइएको छ । सूर्तीजन्य र मादक पदार्थको अधिक सेवन साथै अन्य अवस्थामा समेत आफ्नो स्वास्थ्यको ख्याल नगर्नाले उक्त प्रकृतिको रोगको संक्रमण फैलन गएको जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत दीपक अधिकारीले बताउनुभयो । अधिकारीले ताप्लेजुङमा मात्र नभई देशभर नसर्ने रोग तथा दीर्घरोगीको संख्या बढ्दै गएकाले नेपाल सरकारले समेत यसलाई न्यूनिकरण गर्नका लागि पहल थालेको जानकारी दिनुभयो । उहाँले यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पाँच बुँदे र वर्तमान केपी शर्मा ओलीको नेतृत्वको सरकारले तीनवटा बुँदा थप गरेर आठ बुँदे प्रतिवद्धता जारी गरेको पनि बताउनुभयो ।

जारी प्रतिवद्धतासँगै ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ नामक सरकारले अभियानको सुरु गरेको उहाँले बताउनुभयो । सरकारको अभियान सफल बनाउन म तनावरहित जीवनशैलीलाई आत्मसाथ गर्छु, रक्सी, चुरोट र सूर्तिजन्य पदार्थबाट टाढै रहन्छु, नियमित व्यायाम गर्छु लगायतका आठ बुँदे प्रतिवद्धता सबैले आ–आफ्नो ठाउँबाट कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो । यस्तै जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले आठ बुँदे प्रतिवद्धता तत्काल पूर्ण रुपमा कार्यान्वयन गर्न नसके पनि क्रमशः गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिवद्धता कार्यान्वयन गर्न सकेमा रोगहरु न्यूनिकरण हुँदै जाने डाक्टर लामाको भनाइ छ । कार्यक्रममा हजार दिने आमाको विषयमा सुआहाराका प्रमुख टेकेन्द्र प्रधानले आफ्नो प्रस्तुति राख्नुभएको थियो । प्रधानले कम तौल, पुड्को पनसहित कुपोषणबाट जोगिन हजार दिनको विशेष महत्व हुने बताउनुभयो । महिला गर्भवती भएर बच्चा जन्मेपछिको दुई वर्षसम्मको अवधिलाई हजार दिन भन्ने गरिएको छ । अन्तक्र्रियामा स्थानीय तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्