विश्वकप समूह ‘डी’ को अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा प्रवेश

सेन्ट पिटर्सबर्ग, / विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन् । क्रोएसियाले आइसल्यान्डलाई  २-१ र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ गोलले हराउन सफल भएका हुन् ।

लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।  नाइजेरियाका लागि भिक्टर मोजेजले गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ औं मिनेटमा अर्जेन्टिनाका लागि डिफेन्डर मार्कोस रोहोले गोल गर्दै अर्जेन्टिनालाई अति महत्त्वपूर्ण जित दिलाए ।

अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई पनि २-१ ले हराएपछि अर्जेन्टिनाको अन्तिम १६ को ढोका खुलेको हो । क्रोएसियाका लागि मिलान बाडेल्जले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि गिल्फी सिगर्ड्सनको पेनाल्टीमा आइसल्यान्ड खेलमा फर्केको थियो । तर ९० औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियाको शत प्रतिशत रेकर्ड सुनिश्चित गरेका हुन् ।

यस नतिजहरुसंगै क्रोसियाको ३ खेलमा पुरै ९ अंक रहेको छ भने अर्जेन्टिनाको ४ अंक रहेको छ । नाइजेरिया ३ अंक र आइसल्यान्ड १ अंक बटुल्दै घर फर्केका छन् । अब क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र अर्जेन्टिनाले फ्रान्सको सामना गर्ने छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्