विवाह गर्न नदिएको भन्दै ८८ वर्षे अन्तरिक्षयात्रीले हाले सन्तान विरुद्ध मुद्दा

बीबीसी / अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिनले आफ्ना दुई सन्तान र भूतपूर्व प्रबन्धकलाई सम्पत्ति हत्याएको र आफूलाई दुर्नाम गरेको आरोप लगाउँदै मुद्दा हालेका छन्।

छोराछोरीले उनको सम्पत्तिमाथि आफ्नो अधिकार दाबी गर्दै एउटा याचिका दर्ता गरेपछि ८८ वर्षीय एल्ड्रिनले उनीहरूविरुद्ध कानुनी उपचार खोजेका हुन्।सो मु्द्दामा उनले छोराछोरीले आफूलाई विवाह गर्न नदिएको पनि उल्लेख गरेका छन्। एल्ड्रिनले नील आर्म्स्ट्रङपछि चन्द्रमामा पाइला टेकेका थिए। उनीहरू दुवै जना सन् १९६० मा एपोलो ११ अभियानमा सहभागी भएर चन्द्रमामा गएका थिए। गत हप्ता वाल स्ट्रीट जर्नलमा प्रकाशित एउटा अन्तर्वार्तामा एल्ड्रिनले कसैले पनि मलाई आफ्नो अभिभावकत्वमा राख्छु भनेर नसोचे हुन्छ भन्ने आशय व्यक्त गरेका छन्। उनी अमेरिकी वायुसेनाका निवृत्त कर्णेल हुन्।

मुद्दामा एल्ड्रिनले छोरा एन्ड्र्यु, छोरी जेनिस र पूर्वप्रबन्धक क्रिस्टिना कोर्पले आफूलाई विवाह गर्न नदिएर आफ्नो निजी प्रेमसम्बन्धको अनादर गरेको दाबी गरेका छन्। विवाद उनको निजी कम्पनी बज एल्ड्रिन इन्टर्प्राइजेज र गैरनाफामूलक संस्था शेअरस्पेस फाउन्डेशनको सञ्चालनसँग पनि जोडिएको छ। गत महिना दर्ता गरेको याचिकामा ६० वर्षीय एन्ड्र्यु र जेनिसले आफ्ना पिता पछिल्लो समयमा नयाँ साथीहरूसँग घनिष्ठ हुन थालेका र उनीहरूले उनलाई परिवारबाट अलग्याउन खोजेका छन् भन्ने दाबी गरेका थिए। उनीहरूले बज एल्ड्रिनले अवाञ्छित गतिमा पैसा खर्च गर्न थालेको उल्लेख गरेका छन्।

आफ्नो मुद्दामा एल्ड्रिनले छोरा एन्ड्र्यु र कोर्पले लाखौँ डलर पर्ने अन्तरिक्षसँग सम्बन्धित वस्तुहरू र अन्तरिक्षबाट ल्याइएका आफ्ना चिनोहरू एवम् आर्थिक गतिविधिमाथि अनुचित ढङ्गले नियन्त्रण गरेको दाबी गरेका छन्उनीहरूले आफ्नो स्वार्थका लागि त्यसोको गरेको आरोप उनको छ। दुई जनाले धेरै वर्षदेखि आफूलाई विस्मृति भएको र अल्जाइमर्स रोगबाट पीडित भएको भनेर दुर्नाम गरेको दाबी पनि उनले सो कानुनी दस्तावेजमा गरेका छन्।

छोरा एन्ड्र्युले नियतवश छलकपट गरेर वा तर्साएर सम्पत्ति हत्याएको एवम् छोरी जेनिसले जालझेल गरेको र आफ्नो आर्थिक हितका लागि काम नगरेको आरोप उनले लगाएका छन्। उनका जेठा छोरा भने यो विवादमा परेका छैनन्। अदालतबाट नियुक्त भएका एक मानसिक स्वास्थ्य विशेषज्ञले यो हप्ता एल्ड्रिनको परीक्षण गर्ने बताइएको छ। एउटा विज्ञप्तिमा एल्ड्रिनका छोराछोरीले सो अनुपयुक्त मुद्दा बाट आफू दुःखित भएको जनाएका छन्।

उनीहरूले आफ्नो परिवार मिलेर समस्या निराकरण गर्न सक्षम रहेको पनि दाबी गरेका छन्। हामी बुवालाई धेरै माया र सम्मान गर्छौँ। र, यो परिस्थितिबाट निस्किने र सुदृढ सम्बन्ध पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा गर्छौँ। पछिल्लो वर्षमा एल्ड्रिन चर्चामा रहेका छन्। उनी बिग ब्याङ थ्योरी, द सिम्प्सन्स, थर्टी रक जस्ता अमेरिकी टेलिभिजन कार्यक्रममा देखा परेका थिए। मङ्गल ग्रहमा मानव बसोबासका पक्षमा पनि एल्ड्रिनले वकालत गर्ने गरेका छन्।

गत वर्ष उनले कसरी मानिसलाई मङ्गलमा लैजाने भनेर आफ्नो योजनासहित एउटा भर्चुअल रिआलिटी चलचित्र सार्वजनिक गरेका थिए। गत हप्ता उनी ह्वाइट हाउसमा राष्ट्रिय अन्तरिक्ष परिषद्ले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भएका थिए। सो अवसारमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सैन्यको छैँठौँ शाखाका रूपमा काम गर्ने गरी स्पेस फोर्स अर्थात् अन्तरिक्ष सेना गठन गर्ने घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्