गोरखाको धार्चे गाँउपालिकाको गाउँसभाको बैठक बिपक्षी दलद्धारा अबरुद्ध

 गोरखा, १३ असार / गोरखाको धार्चे गाउँपालिकाको गाँउसभाको बैठक अबरुद्ध भएको छ ।

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले एकलौटी ढंगले बजेट बिनियोजन तथा बाडँफाड गर्न खोजेको भन्दै बिपक्षी दल नेपाल कम्युनिष्ट पार्र्टी (ने.क.पा) का सदस्यहरुले बैठक मंगलबार अबरुद्ध गरेका हुन् । बजेट तथा योजना तर्जुमा समिति गठन नै नगरी कार्यपालिकाको निर्णय बिना नै अध्यक्ष र उपाध्यक्षले आफुखुशी बजेट ल्याएको नेपाल कम्युनिष्ट पार्टीका गाउँ कार्यपालिका सदस्य एवं वडा नम्बर ६ का वडाध्यक्ष धन बहादुर घलेले जानकारी दिनुभयो । “उपाध्यक्षको संयोजकत्वमा बजेट तथा योजना तर्जुमा समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ त्यो पनि गरिएन कार्यपालिकालाई नै बेवस्ता गरेर अध्यक्षले बजेट ल्याउने प्रयास गरेकाले हामीले बहिस्कार गरेका हौ”, उहाँले भन्नुभयो ।

आफुहरुले पटक–पटक सहमती गरेर अघि बढेको भएपनि अध्यक्ष गुरुङले फेरी वडाभेलाबाट ल्याएको योजना तथा बजेटलाई समेत जथाभावी काटछाट गर्ने, पुनः नयाँ मापदण्ड बनाउने भन्दै बैठकमा अबैज्ञानिक ढंगबाट प्रस्ताव पेश गर्ने गरेपछि बैठक अबरुद्ध गर्नुपरेको घलेले बताउनुभयो । वडाभेलाबाट योजना प्रस्ताव पेश गरिसकेपछि अध्यक्षले जनसंख्याको आधारमा बजेट बाडफाड गर्ने, टुक्रे योजनामा बजेट बिनियोजन नगर्ने भन्दै बैठकमा नयाँ मापदण्ड बनाउन प्रस्ताव गरेको बिपक्षी दलका सदस्यहरुको भनाई छ ।

गाँउपालकिा अध्यक्ष गुरुङले बिपक्षी दलका सदस्यहरुलाई गाउँसभाको बैठकको सूचना समेत समयमा नदिएको वडा नम्बर ३ का वडाध्यक्ष इन्द्र बहादुर गुरुङले दावी गर्नुभयो । “हामीलाई जेठको ६ गते चिठि काटेर असार ६ गते मात्र चिठि दियो, अर्का सदस्य सोम गुरुङलाई त १ घण्टा अघि मात्र फोन गरेर जानकारी गरायो”, गुरुङले भन्नुभयो । तलबाट छानेर ल्याएको योजनामा छलफल नै नगर्ने तर भ्यालबाट ल्याएका योजनालाई मात्र अध्यक्षले प्राथामिकता दिने गरेको उहाँको भनाई छ । यता गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले निति तथा कार्यक्रम भन्दा फरक ढंगले योजनाहरुको आएकाले त्यसलाई सच्याउन मात्र खोजिएको बताउनुभएको छ ।

उहाँले गाउपालिकाले पु¥याउनु पर्ने सवै प्रक्रिया पुरा गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेको भन्दै वडाध्यक्षहरुले टुक्रे बजेट पेश गरेकाले समस्या भएको बताउनु भयो । उहाँले अब छलफल सहमतीबाट समस्याको समाधान गर्ने समेत बताउनु भयो । धार्चे गाउँपालिकामा ३९ सदस्सीय गाउँसभामा २५ जना अर्थात बहुमत सदस्य प्रतिपक्षमा रहेका छन् भने १४ जना सदस्य मात्र सत्ता पक्षमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्