इरानीे तेलबारेको अमेरिकी भनाइ भारतप्रति लक्षित होइन : भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली, भारत / संयुक्त राज्य अमेरिकाद्वारा इरानको तेल आयातमा कमी गरिने भावको विज्ञप्ति ‘भारत विशेष’ प्रति लक्षित नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले उक्त भनाइ विश्वका सवै मुलुकहरूलाई लक्षित गरी आएको बताएको हो । विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सञ्चारकर्मीहरूलाई जानकारी गराउनेक्रममा बताउनुभयो, “अमेरिकी विदेश विभागद्वारा जारी विज्ञप्तिमा आगामी नोभेम्बर ४ देखि इरानबाट गरिने तेलको आयात शुन्यमा झार्न र इरानसँगको सम्बन्ध रोक्न भनेको थियो । यो जानकारी हुनु जरूरी छ कि विज्ञप्ति भारत विशेषलाई लक्षित गरेर आएको थिएन यो विश्वका सवै मुलुकका लागि थियो ।” “जहाँसम्म हाम्रो हितबारेमा कुरा छ सम्बन्धित साझेदारसँगको वार्ता गर्दै हाम्रो इन्धन सुरक्षासहित हामीले सवै आवश्यक कदम चाल्ने छौँ,” कुमारले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो । भारत भ्रमणमा रहनुभएकी संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बुधबार भारतीय प्रधानमन्त्रीसँग पनि भारतको इरानसँगको निर्भरतामा कटौति गर्न आवश्यक हुने बताउनुभएको थियो । तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । रासस/एएनआई


प्रतिक्रिया दिनुहोस्