रोनाल्डोले सन्यास नलिने तर रियल मड्रिड छोड्ने, मेस्सीको सन्यास लिने तयारी

एजेन्सी / शनिबार राती भएका दुई नकआउट खेलमा पालैपालो पराजित भएसँगै अहिलेको विश्व फुटबल जगतका दुई स्टार खेलाडी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोको सन्यासबारे चर्चा सुरु भएको छ । पछिल्लो रिपोर्टअनुसार अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले सन्यास लिने तयारी गरिरहेका छन् तर पोर्चुगिज स्टार रोनाल्डोले भने सन्यास लिने कुनै संकेत गरेका छैनन् । यद्यपि रोनाल्डोले आफ्नो क्लव रियल मड्रिड भने छोड्ने तयारी गरेका छन् ।

मेस्सीले विश्वकप सुरु हुनुअघि नै विश्वकपमा प्रदर्शनको आधारमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको फैसला हुने बताएका थिए । हिजोको पराजयसँगै मेस्सीको सन्यास लगभग निश्च्ति भएको फुटबल विज्ञहरुले बताएका छन् । यस पटकको विश्वकपमा उनको प्रदर्शन सन्तोषजनक नभएसँगै उनले सन्यास लिने लगभग निश्चित छ ।

उनले २०१४ विश्वकप फाइनल, २०१५ र २०१६ मा लगातार कोपा अमेरिका फाइनल हारेपछि सन्यास घोषणा गरिसकेका थिए । यद्यपि फ्यानको आग्रहमा उनले सन्यास लिने निर्णय फिर्ता लिएका थिए । अहिले भने उनले सन्यासको निर्णय बदल्ने सम्भावना अत्यन्तै न्यून रहेको बताइएको छ ।
पोर्चुगिज स्टार रोनाल्डोले भने सन्यासको कुनै सोच नभएको बताएका छन् ।

‘हामी आत्मविश्वकसमा साथ घर फर्किँदैछौं’ उनले भनेका छन् ‘पोर्चुगलको कप्तानको हैसियतमा म भन्छु, हामीले गरेका छौं र त्यसमा हामीले गर्व गर्नुपर्छ ।’ पोर्चुगलका कोच फर्नान्डो सान्तोसले पनि रोनाल्डोले फुटबललाई अझै धेरै दिन बाँकी रहेको बताउँदै आगामी सेप्टेम्बरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा रोनाल्डो उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।

यद्यपि रोनाल्डोले अहिले आफू खेल्दै आएको स्पेनिस क्लव रियल मड्रिड भने छोड्ने बताइएको छ । इङलिस क्लव म्यान्चेस्टर युनाइटेडको रोजाइमा रहेका रोनाल्डो म्यान्चेस्टर जाने तयारी गरिरहेको बताइएको छ । एक स्पेनिस अखबारले लेखेअनुसार रोनाल्डोले रियल मड्रिड प्रशासनलाई आफू म्यान्चेस्टर जान चाहेको बताइसकेका छन् । रोनाल्डो २००९ मा म्यान्चेस्टर युनाइटेडबाटै रियल आएका थिए । अब उनी पुनः पुरानै क्लव फर्किने लगभग निश्चितजस्तै भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्