आयोजक रुससँग पेनाल्टी सुटआउटमा स्तब्ध बन्दै स्पेन विश्वकपबाट बाहिरियो

काठमाडौँ । सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै बाहिरिएको छ ।रुसका गोलकिपर इगोर अकिनफेभले कोके र इयागो असपासको पेनाल्टी रोकेपछि रसिया पेनाल्टीमा ४–३ गोलअन्तरले पराजित भएको हो ।

यसअघि सन् २००२ मा पनि स्पेन आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । विश्वकपमा स्पेनले चारमध्ये एक मात्र पेनाल्टी सुटआउट जितेको छ । यसअघि निर्धारित तथा अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएको थियो ।

सर्जी इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलको १२ औँ मिनेटमा नै स्पेनले अग्रता लिएको थियो । तर, त्यसपछि रुसले केही सुधारिएको खेल प्रदर्शन गर्यो । पहिलो हाफ सकिन लाग्दा जेरार्ड पिकेले डि–एरियामा बल हातले छोएपछि रुसले पेनाल्टी पायो ।अर्टेम जुबाले पेनाल्टीमा गोलकिपर डेभिड डि गेयालाई झुक्याउँदै गोल गरेर खेल बराबरी भए ।

खेलको दोस्रो हाफमा स्पेनले आफ्नो पोजेसन गेम जारी राख्यो भने रुसले काउन्टर अट्याकमा स्पेनमा दबाब बनाइराख्यो । खेलको अन्त्यतिर स्पेनका इनियेस्टाको प्रयास रुसका गोलकिपरले सुन्दर बचाउ गरेका थिए । तर, दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो ।

अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । रुसले अब डेनमार्क र क्रोएसियाबीचको विजेतासँग क्वाटरफाइनलमा भिड्नेछ । आजको खेलअघि स्पेन पछिल्लो २३ खेलमा अपराजित रहेको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्