ग्रामीण पत्रकारिता तालिम सुरु

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १८ असार / ताप्लेजुङमा पाँच दिने आधारभूत ग्रामीण पत्रकारिता तालिम सुरु भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र बिराटनगरको आयोजनामा तालिम सुरु गरिएको हो ।

ग्रामीण पत्रकारिता तालिम उद्घाटन कार्यक्रमका अतिथिहरु । तस्बिर:प्रयास ।

सदरमुकाम फुङ्लिङमा आइतबार सुरु भएको उक्त तालिमको प्रदेश नं. १ का सांसद बलबहादुर साम्सोहाङले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्नुहुँदै प्रदेश सांसद साम्सोहाङले पत्रकारहरुको क्षमता विकासमा तालिमले सहयोग पुग्ने विश्वास गर्नुभयो । उहाँले ताप्लेजुङमा तालिम आयोजना गरेर स्थानीय पत्रकारहरुलाई अवसर प्रदान गरेकोमा क्षेत्रीय सञ्चार स्रोत केन्द्रलाई धन्यवाद समेत दिनुभयो ।

आउँदो बिहीबारसम्म सञ्चालन हुने पत्रकारिता तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्ध २० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण वरिष्ठ पत्रकार कपिल काफ्ले, नेपाल प्रेस इन्ष्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र बिराटनगरका अध्यक्ष मोहन भण्डारी लगायतले गर्दै आउनुभएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले तालिम समन्वयको भूमिका निर्वाह गरेको शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्