मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर / मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् ।

इन्डोनेसियाबाट गैरकानूनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा दुर्घटनामा परेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । इन्डोनेसियाको बाटामबाट आइतबार राती मलेसियातर्फ आएको डुङ्गामा ४४ जना यात्रु रहेका थिए । डुङ्गाका यात्रुमध्ये २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

“अहिले सम्म हराइरहेका मध्ये १८ जनाको खोजी तथा उद्धार कार्य भइरहेको छ,” एक उच्च अधिकारीले एएफपीसँग भने । प्रारम्भिक विवरणहरू अनुसार क्षमताभन्दा बढी यात्रु ल्याएको र खराव मौसमका कारण डुङ्गा दुर्घटना भएको अनुमान गरिएको छ । डुङ्गा दुर्घटना भएको ठाउँको १५० वर्गमिटर क्षेत्रमा खोजी कार्य जारी राखिएको छ । खोजी तथा उद्धारका लागि सरकारका विभिन्न निकायका १५० जना अधिकारीहरू, सात डुङ्गा र पानी जहाज तथा हेलिकोप्टर पनि परिचालन गरिएको छ ।
काम खोज्दै इन्डोनेसियाका अवैध आप्रवासीहरू वेला वेलामा यसैगरी मलेसिया जाने गर्दछन् । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्